राजतन्त्रको समुल अन्त्य र जनगणतन्त्रको स्थापनाको मुल उद्धेश्यका साथ तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो । घोषणासँगै माओवादीका मुख्य नेता कार्यकर्ताहरु भूमिगत भए र सशस्त्र सङ्घर्ष मार्फत आफ्नो उद्धेश्यतर्फ अघि बढे । यो सशस्त्र आन्दोलन करिब १० वर्षसम्म जारी रह्यो । नेकपा माओवादी पार्टीले सशस्त्र सङ्घर्ष त्यागेर औपचारिक रुपमा खुल्ला राजनितिमा आउने क्रममा विभिन्न प्रक्रियाहरु पुरा गर्दा वि.सं. २०६३ साल मंसिर ५ गते तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष प्रचण्ड विच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि विधिवत रुपमा जनयुद्धको अन्त्य भएको थियो ।
करिब एकदशक लामो जनयुद्धमा माओवादी जुन विचार, कार्यशैली र व्यवहार लिएर सर्वसाधारण जनतामाझ भिज्यो, त्यसले आम जनतामाझ बेग्लै खालको चेतनाको प्रसार भइरहेको थियो । राज्य, नेतृत्व वा आधुनिक परिवेशको गन्ध समेत नपुग्ने दुरदराज वा कुनाकाप्चामा भइरहेका विकराल अन्याय, दमन, अत्याचारहरु सर्लक्कै बढारिदै गए । पिडकहरुले आफ्ना हर्कतहरुलाई आफै सशंकित र त्रसित नजरले हेर्न थाले र जनमुक्ति सेनासँग डराउँदै गए । पिडितहरुले आफ्नो निम्छरोपन र कमजोरीप्रति स्वतस्फुर्त हिनतावोध महशुस गर्न थाले । पिडकहरुप्रति आगोको ज्वालाजस्तो आक्रोश पैदा हुन थाल्यो र जनमुक्ति सेनासँग अगाध आस्था र विश्वास पैदा हुन थाल्यो । महिला, हलि, गोठाला, कमैया, गरिब, निमुखा, दलित आदि जेजति समाजका निम्न वर्गका मानिसहरु थिए, उनीहरुमा एक प्रकारको विद्रोहको चेत निर्माण हुँदै गयो । भलै अब सशस्त्र क्रान्तिबाट राज्यसत्तामाथि कब्जा सम्भव छैन भनेर माओवादी शान्ति प्रक्रियामा आएको किन नहोस्, आम जनतामा भने विद्रोह र मुक्तिको चेतना जागृत भईसकेको थियो । अँध्यारो जङ्गलभित्र आगोको सानो टुकी बालेर छोडेजस्तै आम जनताको चेतनास्तरले डढेलोको रुप लिईसकेको थियो । यही चेतनाको जगमा नै २०६२÷०६३ को जनआन्दोलन सफल भयो र देशमा राजतन्त्रको अन्त्य भयो । देशमा संविधानसभा स्थापना भयो ।
माओवादी शान्ति प्रक्रियामा आएपछि तत्कालिन सरकारसँग भएको १२ बुँदे सम्झौताको मर्म अनुसार देशमा संविधान सभा बन्यो र नयाँ संविधान निर्माण भई औपचारिक रुपमा राजतन्त्रको समुल अन्त्य भयो । देशमा गणतन्त्रको स्थापना भयो । यसमा पनि सशस्त्र सङ्घर्ष वा जनयुद्धमा निर्माण भएको आमजनताको चेतनाले नै काम गरेको हो । होइन भने नयाँ संविधान र गणतन्त्रको घोषणामा पनि अनेक व्यवधान आइदिन्थे । तर यस्तो भएन । सर्लक्कै नेपाली समाजको रुपान्तरण भयो । यसबाट नेपाली जनतामा अपार राजनैतिक, साँस्कृतिक र बैचारिक जागरण आइसकेको देखिएको छ । फलस्वरुप आजसम्म आइपुग्दा नेपाली समाजमा वाक् स्वतन्त्रता, अन्यायको प्रतिरोध, आधुनिक प्रविधिमा पहुँच, मौलिक हक अधिकारहरुको सुनिश्चितता जस्ता महत्वपुर्ण प्राप्तीहरु छर्लङ्गै देखिएकाछन् । जनयुद्धकै बलमा निर्माण भएको मानसिक जागरण, राजनैतिक चेतना र अपनत्वको भावनाले नै अहिले हामीले व्यक्तिगत, संस्थागत र सामाजिक विकास गर्न पाएकाछौँ तर विडम्बना यो छ कि जसका कारण हामीलाई सर्वश्व प्राप्त भयो त्यसैलाई अहिले हिंसा भनेर समाजलाई दिग्भै्रमित पार्ने कोशिस गरिरहेकाछौँ । राजनैतिक तुच्छता प्रदर्शन गरिरहेकाछौँ । १७ हजारको हत्यारा आदि भनेर प्रचण्डलाई सार्वजनिक गाली गरिरहेका छौँ तर प्रचण्डकै कारण खुल्लमखुल्ला गाली गर्न पाइरहेकाछौँ भन्ने कुरा विर्सिएका छौँ ।
सशस्त्र सङ्घर्ष भएकाले दुवैतिर हताहति हुनु स्वभाविक हो । अझ क्रान्तिकारी पक्ष संयमित भएकोले यतिमात्र हताहतिको आकार बन्यो । जस्तो तत्कालिन सत्तापक्षको रवैया त्यस्तै प्रतिउत्तर दिएको भए हताहतिको आकार निकै माथि पुग्थ्यो । यति ठुलो परिवर्तनको सशस्त्र लडाईमा कसैका पति, कसैका पत्नि, कसैका आमा, छोरा, बुबा, भाइ, बहिनी जो पनि परेको हुनसक्छ तर ठुलो प्राप्तीका लागि बलिदान आवश्यक नै थियो । त्यो भयो । यसलाई अहिले इश्यु बनाउनु भनेको राजनैतिक प्रोपोगाण्डामात्रै हो । जनयुद्ध सशस्त्र भएकोले मर्ने र मार्ने सन्दर्भमा यसलाई हिंसा भन्न त सकिएला तर यो हिंसा मुक्तिका लागि थियो । कसैलाई मार्नकै लागि मात्र नभएर धेरैलाई बचाउनका लागि थियो । मुक्ति दिनका लागि थियो । त्यसैले जनयुद्ध हिंसा होइन, मुक्तिको गौरवपुर्ण सङ्घर्ष थियो ।
आज त्यही जनयुद्ध शुरु भएको २९ वर्ष पुरा भएर ३० औँ वर्षमा प्रवेश गरेको दिन हो । जसले जे भनेपनि आजको दिन नै आम नेपाली जनताको मुक्ति र स्वतन्त्रताको यात्रा शुरु भएको दिन हो । हजारौँको बलिदान, त्याग र सङ्घर्ष सार्थक भएको दिन हो । यो दिन नेपालको इतिहासमा युगान्तसम्म प्रेरणाको स्रोत बनिरहनेछ । यो बलिदानमा होमिनुभएका ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धान्जली ।
– प्रधान सम्पादक तथा बागियान परिवार
.......

















