(गान्तोक, सिक्किम निवासी साहित्यकार, कवि, लेखक एवम् पत्रकार युवराज घलेभाइले दैनिक सुनचरीका लागि लिनुभएको यो अन्तरवार्ता जुन सन् १९९० जनवरी ६ गते प्रकाशित भएको थियो । हाल नेपालमा रहनुभएका अन्तरवार्ताकार घलेभाइ स्वयंले यो अन्तरवार्ता बागियानलाई उपलब्ध गराउनुभएको हो । सिक्किमका तत्कालिन मुख्यमन्त्री भण्डारीको १६ जुलाई, २०१७, आइतबार भारतको नयाँदिल्लीमा निधन भएको थियो ।–सम्पादक) 

नरबहादुर भण्डारी– सिक्किमका मुख्यमन्त्री । सिक्किम विधानसभाको सम्पूर्ण (३२) सिट जित्ने पार्टी सिक्किम संग्राम परिषदका संस्थापक अध्यक्ष । नेपाली भाषालाई भारतमा संवैधानिक मान्यता दिलाउन चलिरहेको आन्दोलनका नेता । भारतीय नेपाली राष्ट्रिय परिषदका अध्यक्ष । नेपाली भाषाका कवि, कथाकार र पत्रकार । नेपालको यस वर्षको जगदम्बाश्री पुरस्कार विजेता ।

भारतमा सिक्किम विलयको प्रबल विरोधीका रूपमा चर्चित भण्डारी अहिले पनि आफूलाई एउटा प्रचण्ड राष्ट्रवादी र राजावादीका रूपमा प्रस्तुत गर्छन् । सिक्किममा उनलाई भ्रष्टाचारी पनि भनिन्छ, तानाशाह पनि ठानिन्छ । तर, उनले आफ्नो मीठो भाषा, सह्दयतापूर्ण व्यवहार र नाटकीय कार्यशैलीले त्यहाँका जनतालाई यस्तरी लठ्ठ पारेका छन् कि उनले त्यहाँ जे गरे पनि हुन्छ ।

लामो समयसम्म झारलाङ्गे प्रथा एवं काजी–ठेकेदारहरूको शोषण–उत्पीडन झेलेका जनता सिक्किमको आधुनिकीकरण र विकासको श्रेय भण्डारीलाई नै दिन्छन् । उनी परिश्रमी पनि छन् । आफ्नो जिम्मेदारीप्रति सचेत पनि छन् । देख्दा हँसिला छन्, फूर्तिला छन्, स्पष्ट बोल्छन् । उनले राजनीतिमा सफलताको सूत्र राम्रोसँग बुझेका छन् । विद्वानझैं अभिनय गर्छन्, तर विद्वान कम बाठो बढी छन् । जे भए पनि सिक्किममा अहिले यिनलाई चुनौती दिन सक्ने कुनै व्यक्ति वा शक्ति देखा परेको छैन । उनको लोकप्रियता घट्नु सट्टा बढ्दैछ ।

केही समययता सुवास घिसिङले नेपाली भाषालाई गोर्खे भाषा भन्न थालेपछि नेपाली भाषालाई भारतमा संवैधानिक मान्यता दिलाउन प्रयत्नशील करिब एक करोड भारतीय नेपालीको नेतृत्व भण्डारीले लिएका छन् । हालै गान्तोकस्थित मुख्यमन्त्री निवासमा लिएको यो अन्तर्वार्ताका क्रममा भण्डारीले व्यक्त गरेका विचारहरू, ‘यसले त यही तालले शासन गर्यो भने आजीवन खान्छ ।’ प्रस्तुत छ साढे ३ घन्टा लामो उक्त टेप–अन्तरवार्ताको केही अंश :

राजनीतिमा कसरी लाग्नुभयो ?

म राजनीतिमा लागेको होइन, मैले राजनीति जानेको पनि छैन । नेपाली भाषा र साहित्यको सेवा गरी आएको थिएँ । एउटा टिचरका रूपमा काम गरी आएको थिएँ । अचानक देश अर्काले खान लागेको थाहा पाएपछि देशको मायाले गर्दा यता लागेको हुँ । नेपाली र भोटे–लाप्चे आपसमा झगडा गरेर अरूलाई मौका दिइरहेको । यो देखेर म नाम्चीमा सभा भइरहेको ठाउँमा गएँ र आफैं मञ्चमा उभिएर एक मिनेट भाषण गरेँ । छोटो भाषण ।

मैले भनेँ, ‘तँ नेपाली भनेको पाङ्ग्रे बिरालो हो, तँ भोटे लाप्चे भनेको सिँगारे बिरालो हो । तलबाट ढेडु आउँदैछ । तिमीहरू झगडा गर, ढेडुले रोटी खानेछ ।’ त्यसपछि म गेजिङ गएँ । त्यहाँ पनि मानिसहरूको भीड लागेको रहेछ– भारतको स्वागत गर्न । यताबाट बिएस दास (भारत सरकारका प्रतिनिधि) गएको थियो, स्वागत खान । सभा चलेपछि मैले फुत्त माइक खोसेर भनेँ, ‘सिक्किम अब इन्डियाले खान्छ । तिमीहरू भोटे, लाप्चे, नेपाली सबै अजिंगरको मुखमा पुग्यौ । तिमीहरू आपसमा मिल्न सकेनौ, अब सत्तरी करोड धोती बोक ।’ त्यस बेला भारतको जनसंख्या ७० करोड भनिन्थ्यो ।

मैले फेरि थपेँ, ‘अब ७० करोड धोती बोक, गधाले झैं ।’ त्यसपछि भण्डारीलाई मार्नुपर्छ, यो राजाको दलाल हो भने । मैले भनेँ, ‘मलाई के मार्छौ, तिमीहरूलाई मार्ने (भारत) आउँदैछ ।’ म मोटरमा बसेँ । एकछिनपछि मोटरबाट ओर्लिएर फेरि कराएँ, ‘मलाई मार्ने कोही छस् ? छस् भने आइज ।’ राति कोही आएन । म घर फर्किएँ ।

झन्डा बेचे, देश बेचे, सबै सिक्किमेलाई बेचिदिए । मातृभूमिको बलात्कार गरे । यस्तो देखेर म गाउँ गाउँ, घर घर गएँ । भोक्कै प्यासै । कहिले रुखमुनि पनि बास बसेँ, कतै सुकुल ओढेर पनि सुतेँ । जनताको दुःख देखेँ । 

राति उनीहरू मसित कुरा गर्न आए । अब टिचरी छाड्नुस्, कत्ति दिनसम्म टिचर बन्ने, तपाईं जे माग्नुहुन्छ त्यही पद दिन्छौं भने । मैले भनेँ, ‘मलाई कुनै पद चाहिँदैन, म टिचरमै बस्छु, तर म बाँचुञ्चेल सिक्किमको झन्डा निकाल्न दिन्न ।’ पछि मलाई कुटे, पिटे र मारे । ३६ घन्टासम्म मरेको मान्छे म । त्यसपछि थुनामा हाले । सिक्किमको जेलले मात्र नपुगी बरहमपुर जेल (पश्चिम बंगाल) मा लगेर कोचे । देशद्रोहीहरूले त्यही बेला सिक्किमको झन्डा निकाले । त्यतिखेर म देशमा नभई जेलमा भएकाले त्यसको पाप भोग्नुपर्दैन कि ?

उनीहरूले के–के गरेनन् । झन्डा बेचे, देश बेचे, सबै सिक्किमेलाई बेचिदिए । मातृभूमिको बलात्कार गरे । यस्तो देखेर म गाउँ गाउँ, घर घर गएँ । भोक्कै प्यासै । कहिले रुखमुनि पनि बास बसेँ, कतै सुकुल ओढेर पनि सुतेँ । जनताको दुःख देखेँ । आफ्नो मनको कुरा जनतालाई भनेँ । जनताले चुनावमा खडा गराइदिए । जनताले देश बेचुवाहरूलाई हराएर मलाई जिताए । यही हो मेरो राजनीति भनेको । म राजनीतिज्ञ होइन ।

सिक्किम भारतमा सिक्किमी जनताको इच्छाअनुसार नै विलय भएको हो भन्ने मान्नुहुन्न ?

म मान्दिनँ । १९७२ मा यहाँ जुन आन्दोलन चल्यो, त्यो साम्प्रदायिक र सुनियोजित थियो । पछि भएको तथाकथित जनमत संग्रह पनि नक्कली थियो । देश बेच्ने र किन्ने जालसाजी थियो त्यो । त्यसमा सिक्किमका जनताले भाग लिएकै थिएनन्, २–४ जनाले भाग लिएका भए पनि भूलमा वा करकापमा परेर लिए होलान् । जानीजानी आफ्नो देश बेच्न कोही तयार हुन्छ ? आमालाई बेच्नुजस्तै हो यो । म त आमालाई असाध्यै मान्छु । आज म जे छु, त्यो आमाकै आशीर्वादको फल हो । आफ्नो बाबु र आमालाई सबैले मान्नुपर्छ ।

विलय नभएको भए सिक्किमले आफ्नो छुट्टै र स्वतन्त्र अस्तित्व कायम राख्न सक्थ्यो त ?

मज्जासित सक्थ्यो, आनन्दसित । सिक्किमभन्दा साना मुलुक पनि छन्, संसारमा ।

के तपाईं अहिले पनि यसको मुक्ति वा स्वतन्त्रताको पक्षमा हुनुहुन्छ ?

यो कुरा भविष्यलाई नै छाडिदिउँ । आउने पुस्ताले जे चाहन्छ, त्यही होस् । हामी त आत्मा बेचिएका मान्छे । अरूहरू आफ्ना लागि नयाँ मुलुक बनाउने प्रयास गर्दैछन् भने हामीले आफ्नो भएको मुलुक पनि अर्कालाई सुम्पियौं । योभन्दा ठूलो विडम्बना के हुन्छ ? जे होस्, भोलिको कुरालाई भोलिकै मानिसको जिम्मा ।

अहिलेका जनता के चाहन्छन्, स्वतन्त्रै हुन चाहन्छन् ?

स्वतन्त्र हुनका लागि त एउटा क्रान्ति नै चाहिन्छ । स्वतन्त्र हुने सोचाइ सिक्किमको मात्र होइन, अरू पनि थुप्रै राज्यको छ । अस्ति राष्ट्रपति यहाँ आएका थिए । खाना खाने बेला उनले सोधे, ‘मिस्टर भण्डारी, तपाईंहरू पनि बढी स्वायत्तता माग्दै हुनुहुन्छ ?’

मैले भनेँ, ‘किन नमाग्ने ? भारतको संविधान बमोजिम काम गर्ने हो भने त हामी फेल हुन्छौं । भारतको न्यायपालिका पूरा फेल छ । कुनै कुराको फैसला चाहिएको छ आज, तर फैसला हुन्छ दुई वर्षबाद । कुनै ड्रग बेच्ने मान्छे पक्रियो, तर अदालतबाट त्यो छुट्न सक्छ । दस हजारमा ड्रग बेच्छ, एक सय जरिवाना तिर्छ, ९९०० खल्तीमा हालेर जान्छ । म त ड्रग बेच्ने मान्छे देख्यो कि च्याप्प समातेर धुलाई गर्छु र रम्पू (सीमा) पार गरिदिन्छु । तिम्रो अदालतले त त्यो गर्न दिँदैन ।’ मेरो कुरा सुनेर राष्ट्रपति पनि मरीमरी हाँसेको थियो ।

विलय नभएको भए यति विकास हुन्थ्यो त ?

तपाईंले यहाँ जुन विकास देख्नुभयो, त्यो दिल्लीको पैसाले मात्र भएको नठान्नु होला । यसमा हाम्रो पनि खुनपसिना लागेको छ । आफ्नो पनि स्रोत बनाएको छ । लटरी चलाएको छ । चादरको छाना लटरीकै पैसाबाट बाँडेको छ । भारतको कुन्नि कुन ठाउँमा अस्ति भूकम्प गएछ । त्यस निम्ति पनि चन्दा पठाइदिएँ ।

तपाईंहरूले मागेजति सहायता केन्द्रले दिएको छैन ?

नियमित रूपमा दिने बजेटबाहेक मैले केन्द्रसित थप केही मागेको छैन । आसाम र पञ्जाबले जस्तो दुःख दिएको छैन । यस्तो शान्ति कुनै राज्यमा छैन ।

भ्रष्टाचार नि ?

यो घिसिङको राज्य हो र ? हिन्दुस्तान सरकारको अडिटर बसेको छ यहाँ । सबै हिसाबकिताब देखाउनुपर्छ । अडिटरले रिपोर्ट दिएको छ– सबैभन्दा व्यवस्थित हिसाबकिताब सिक्किममा रहेछ भन्ने । भारत सरकारले हालै एउटा अर्को रिपोर्ट प्रकाशमा ल्याएको छ, केन्द्रले राज्यलाई दिएको रकममध्ये कसले कति प्रतिशत खर्च गरे भनी मूल्यांकन गरिएको । त्यस रिपोर्टमा सिक्किममा ८१ प्रतिशत खर्च भएको उल्लेख छ, जबकि दिल्लीमा ७५ प्रतिशत रहेछ, कैयौं राज्यमा त ६० प्रतिशतभन्दा कम छ । म अलिकति पनि चुकेको भए दिल्लीले अहिलेसम्म छाड्ने थियो ?

तपाईंका हरेक गतिविधिमाथि दिल्लीले आफ्नै गुप्तचर पठाई निगरानी गरेको हुन्छ भन्ने के सत्य हो ?

निगरानी होइन, कडा निगरानी । एकदम कडा निगरानी । 

अहिले ‘ग्रेटर नेपाल’ को जुन कुरा उठिरहेको छ, त्यो के हो ? कसले उठाएको हो यो ? त्यसमा तपाईंको नाम पनि गाँस्दा रहेछन् । 

ग्रेटर नेपालको कुरा सुवास घिसिङ गर्छ, त्यो घिसिङ बोलेको होइन नि, नेपालीमा एउटा शब्द छ– पिठ्ठु । घिसिङ त्यही पिठ्ठु हो । भर्खरकै कुरा हो, खर्साङमा एउटा मिटिङ भएछ, जसको सभापति घिसिङ रहेछ । त्यसमा खुल्लर (घिसिङ समर्थित दार्जिलिङको एमपी) ले भनेछ, ‘हिन्दुस्तानमा नेपालीको स्थान छैन । नेपालीहरूले भोट हाल्न पाउँदैन ।’ त्यो खुल्लर यहाँ आएर त्यस्तो बोलोस् त । यहाँ त्यस्तो बोल्यो भने त्यसको चोक्टा चोक्टा हुनेछ, सबै नेपालीहरूलाई बाँड्ने हो भने एउटा एउटा चोक्टा पनि पुग्ने छैन ।

खुल्लरले त्यस्तो बोल्यो भन्ने सुन्नासाथ म दिल्ली गएँ र प्रधानमन्त्री (पीभी नरसिंह) रावलाई भनेँ, ‘यो ठिक भएन । खुल्लर भनेको कांग्रेसको एमपी हो । ऊ बोलेको कांग्रेस बोलेको हो कि खुल्लर बोलेको हो, स्पष्ट हुनुपर्यो ।’

मैले चेतावनी नै दिएँ । त्यसपछि प्रमले उसलाई तुरुन्तै झिकाए । दुई जनाबीच के कुरा भयो, थाहा छैन । नेपालीहरूलाई त्यस्तो गाली गरेकोमा मैले सुप्रिम कोर्टमा मुद्दा हाल्न लागेको थिएँ । सबै तयारी भइसकेको थियो । पछि सबैले ‘अहिले भैगो’ भनेर म फर्किएँ । नेपालीविरुद्ध कसैले औंला ठड्यायो भने म त्यसलाई छाड्ने छैन । गोर्खाल्यान्ड आन्दोलनताका घिसिङलाई मैले कति सहयोग गरेँ, उसैलाई थाहा छ । त्यसबीच यहाँ ऊ ४५ पल्ट आयो । हेलिकप्टरमा पठाएँ । उसले चढेको हेलिकप्टरको बिल अझै चुक्ता भएको छैन । उसका हजारौं मानिसलाई ६ महिनासम्म भात खुलाएर पालेँ । राजीव गान्धीले मलाई दिएको बुलेट प्रुफ ‘लाइफ ज्याकेट’ पनि उसैलाई दिएँ । त्यो दिनु भनेको जीवन नै दिनु हो नि ।

तर, आज त्यही भतुवा मलाई नेपालको एजेन्ट भन्छ, म सिक्किमलाई नेपालमा मिलाउन चाहन्छु रे । त्यसपछि मैले पनि भनिदिएको छु, ‘दार्जिलिङ हाम्रो हो’ भनेर। यो सुनेपछि उसको सातो गएको छ । कस्तो मूर्ख, दिल्लीले जे भुक्न लगायो, त्यही भुक्छ । भुकेन भने दिल्लीले भ्रष्टाचारमा समात्ने डर छ । स्वार्थ र लोभले गर्दा ऊ नराम्रोसँग फसिसकेको छ । उसले पहिले अमेरिकाको, चीनको, नेपालको सरकारलाई लेखेका गुह्य पत्र पनि मसित छन् । मैले त्यो चिठी प्रेसलाई दिएँ वा दिल्लीलाई देखाइदिएँ भने उसको के हालत हुन्छ ? तर म त्यसो गर्दिनँ । त्यसो गर्नु अनैतिक हुन्छ । तर, उसले बुझ्नुपर्ने हो ।

भारत सरकारले नेपाली भाषालाई संवैधानिक मान्यता दिने कुरामा तपाईं कति आशावादी हुनुहुन्छ ?

आशावादी ? आशावादी होइन, म त पक्कावादी पो छु त । त्यसको बाबुले पनि दिनुपर्छ । एक करोड नेपाली भनेको ठट्टा हो । हिन्दुस्तानका गरिब जनतालाई लुटेर जम्मा पारेको पैसाबाट ७२ करोड घिसिङलाई दिँदैमा र घिसिङले गुन्डागर्दी गर्दैमा नेपाली भाषा ‘गोर्खाली’ हुँदैन । भारतको संसदमा विल आयो भने सबै पार्टीका सदस्यले नेपाली भाषाको पक्षमा हात उठाउने छन् । अस्ति राष्ट्रपतिलाई मैले मेमोरान्डम पनि दिएँ । भारतमा कुनै मुख्यमन्त्रीले मन्त्रीहरूका साथ राष्ट्रपतिसामु गएर मेमोरान्डम दिने आँट गर्दैन । मैले गरेँ । त्यसमा मैले स्पष्ट लेखेको छु– विलयको जुन स्प्रिट थियो, त्यसमा केन्द्रबाट बिट्रे भयो, विश्वासघात भयो ।’ विलयमा भएको सर्तअनुसार विधायिकामा नेपालीहरूको निमित्त पनि सिट आरक्षण हुनुपथ्र्यो । तर, दिल्लीले धोका दियो । मैले यसबारे सुप्रिम कोर्टमा मुद्दा पनि हालेको छु ।

चुनाव एकलौटी जित्नुभएको छ । विरोधीहरूलाई विस्थापितजस्तो गराउनुभएको छ । प्रतिपक्ष भएन भने प्रजातन्त्र नै कमजोर हुँदैन ?

हो, तपाईंले ठिक भन्नुभयो । म यो मान्छु । तर, के अपोजिसनमा म मेरा मानिसलाई पठाउँ त ? अपोजिसनको काम जनतालाई के समस्या परेको छ, कहाँ पानी पुगेन, कहाँ बिजुली पुगेन, जनताले कहाँ दुःख पायो, के गरे जनताले अझ सुख पाउलान्, त्यो कुरा उठाउने हो नि । यहाँको पोल दिल्लीमा लगाउने त हैन नि । उनीहरू जनताबीच जाँदै जाँदैनन् । खाली भण्डारीको चरित्रहत्या गर्ने र दिल्लीको खेताला बन्ने मात्र काम गरिरहेछन् । खेतालाको भरले त कतै पनि पार्टी चल्दैन नि । म ठोकेर भन्छु– यहाँ अपोजिसनका नेता भनिनेहरू सबै कांग्रेस आईका भाडाका खेताला मात्र हुन् । दिल्लीले पैसा दिउन्जेल अलिअलि कुद्छन् र पैसा सकिएपछि चुपचाप बस्छन् । चुनावको बेला बोरामा भरिभरि पैसा ल्याउँछन् । बाकसमा होइन, बोरामा । त्यो पैसा पनि जनताले पाउँदैन, माथिका २–४ जनाले खान्छन् । जनताले त्यस्तालाई किन भोट दिन्छन् ?

तपाईंले आफ्नो कार्यकालमा सिक्किम र यहाँका जनतालाई के दिनुभयो ?

म एउटा साधारण गरिब परिवारमा जन्मिएको साधारण मान्छे हो । मलाई आमाले बढो दुःख गरेर पढाउनुभयो । सुरुमा केही छात्रवृत्ति पाउँथेँ, एउटा पत्रिकामा एउटा कथा लेखेकोमा सरकारलाई गाली गरेको अर्थ लगाएर छात्रवृत्ति पनि काटियो– राजाकै पालाको कुरा हो । राम्रो र नयाँ लुगा लगाउने औकात थिएन । किताब कापी किन्ने पैसा थिएन । आमाले कुखुराको अन्डा बेचीबेची पाल्नुभयो । पढाइ चलाउन काम पनि गरेँ । २ कक्षादेखि नै आफ्नै खुट्टामा उभिएर पढेको हुँ । मलाई गरिब जनताको दुःख थाहा छ । त्यसैले जनताले मलाई मुख्यमन्त्री बनाएपछि मैले गरिबी हटाउनुलाई नै पहिलो प्राथमिकता दिएँ । फलस्वरुप अहिले बाटो नपुगेको कुनै गाउँ छैन, बिजुली नपुगेको कुनै ठाउँ छैन, ठाउँठाउँमा स्कुल खोलिदिएको छु । बूढाबूढीहरुलाई घरैमा पेन्सन पु¥याइदिएको छु– अरु केही नभए पनि बिहान बेलुका मुखमा माड लगाउन त पुग्छ ।

म सानो हुँदा गाउँ छिमेकमा कसैले चादरको छाना लगाए भने ‘आहा, कुनै दिन हाम्रो घरमा पनि यस्तै छाना भए कस्तो हुन्थ्यो’ भन्ने लाग्थ्यो । अहिले मैले सबैको घरमा चादर लगाइदिएको छु । सित्तै । चादरको पैसा तिर्नु पर्दैन । अब २–४ घर बाँकी छन्, यो वर्ष त्यो पनि सकिन्छ । गरिबहरुले बिजुलीको दुइटा बल्ब बालेसम्म पैसा लाग्दैन– एउटा बल्ब बूढाबूढीलाई, एउटा बल्ब नानीहरुलाई । धन भएकाहरुले चाहिँ पूरै तिर्नुपर्छ । पढ्न १२ कक्षासम्म पैसा लाग्दैन । पुस्तकहरु फ्री । नास्ता फ्री, नास्ता गुरुबा गुरुआमालाई पनि फ्री । स्कुलको स्तर नराम्रो छैन । ७ हजार गुरुबा, गुरुआमालाई तलब ख्वाएको छु । तलब पनि राम्रै छ । नानीहरु झोलामा मैले दिएको पुस्तक लिएर मैले खोलेको स्कुल जान्छन्, सित्तै पढ्छन् र घर आएर मैले दिएको बत्तीमा मैले दिएको पुस्तक पढ्छन् ।

म एउटा साधारण गरिब परिवारमा जन्मिएको साधारण मान्छे हो । मलाई आमाले बढो दुःख गरेर पढाउनुभयो । सुरुमा केही छात्रवृत्ति पाउँथेँ, एउटा पत्रिकामा एउटा कथा लेखेकोमा सरकारलाई गाली गरेको अर्थ लगाएर छात्रवृत्ति पनि काटियो– राजाकै पालाको कुरा हो । राम्रो र नयाँ लुगा लगाउने औकात थिएन । किताब कापी किन्ने पैसा थिएन । 

युनिभर्सिटीमा पढ्नेलाई छात्रवृत्तिको व्यवस्था छ । मेडिकल र इन्जिनियरिङमा सिक्किमको लागि भनेर सिट आरक्षण गराएको छु । कोही बिरामी भएर इलाजको लागि जानेहरुका निम्ति दिल्ली, कलकत्ता, सिलगुडीमा घर किनिदिएको छु । साम्प्रदायिक सद्भाव कायम गराएको छु । जाती–जातीबीच पहिलेजस्तो झगडा छैन । मैले यहाँ ५००० भन्दा बढी मन्दिर बनाइसकेँ । कुनै ओडार र बाङ्गो रुख खाली छैन । सबै ठाउँमा भगवान राखिदिएको छु । मन्दिर बनाउन धेरै गाह्रो कहाँ छ ? त्यस्तै बौद्ध मठहरु पनि बनाएँ, गुरुद्वारा पनि बनाएँ, मस्जिद पनि बनाएँ । गिर्जाघर पनि बनाएँ । मैले भनेको छु– धर्म गर तर धर्मको नाममा झगडा गर्न पाउँदैनौ । बख्खु लगाए नेपाली पनि भोटेजस्तो देखिन्छ भने दौरा सुरुवाल लगाए भोटे पनि नेपाली हुन्छ । झगडा किन ?

मैले अन्तरजातीय विवाहलाई पनि प्रोत्साहन गरेको छु । जागिर नपाएका घरका मान्छेले तुरुन्तै जागिर पाउँछ । व्यापार गर्नेलाई पनि अनेकौं छुट दिएको छु । १० वर्षसम्म त इनकम ट्याक्स नि लाग्नै दिइनँ । तर अझै थुप्रै काम गर्न बाँकी छ ।

तर तपाईको कार्यशैली तानाशाहको जस्तो छ भनिँदो रहेछ । प्रजातान्त्रिक मुलुकको मुख्यमन्त्री भएर यसरी नियम कानुन मिचेर काम गर्नु कति उचित हुन्छ ? कि यो असत्य हो ?

तपाईंले सुन्नुभएको कुरा असत्य होइन । विरोधीहरुले मलाई कहिले हिटलर भन्छन्, कहिले जियाउल हक भन्छन्, यसपल्टको चुनावमा इदी अमीन पनि भने । हिटलर र जियाको बारेमा त मलाई थाहा थियो, इदी अमीनबारे थाहा थिएन । मलाई नै इदी अमीन भनिएपछि कस्तो रहेछ त्यो मान्छे बुझ्नुपर्यो भनेर बुझेँ । किताब समाएर पढेँ । मलाई इदी अमीन भनिएकोमा केही हास पनि उठ्यो, केही खुसी पनि लाग्यो, तर धेरै खुसी लागेन । किनभने म त्यस्तो छैन । तर तपाईंलाई यो चाहिँ प्रष्ट गरिदिउँ– मेरो काम चाहिँ अलि कडा छ । मैले साथीहरुलाई, मन्त्रीहरुलाई भनेको छु– ठूलो ठाउँमा पुगिहाल्यौ, एउटा घर बनाएसम्म बनाए हुन्छ । मन्त्री भएपछि मगन्ते जस्तो भएर कुकुर जस्तो भएर हिँड्नु त भएन नि । एउटा घर बनाउनु, इज्जतका साथ बस्नु । तर जनताको कामचाहिँ राम्ररी गर्नू । जनताको कामै कति छ र ? मेरो सर्कुलर छ– कुनै मन्त्री वा अफिसरले ३ दिनभन्दा बढी फाइल राख्न पाउँदैन । मैले ३६ वटा विभाग लिएको छु । मुख्यमन्त्रीको हैसियतले गर्नुपर्ने अनेक काम सकेर पनि म ३६ विभागको फाइलमध्ये एउटा पनि ३ दिनभन्दा बढी राख्दिनँ भने एउटा मात्र विभाग सम्हाल्ने मन्त्री र सचिवले ३ दिनमा किन सक्तैनौं ?

सत्तामा आएपछि म अफिस–अफिस गएँ । कोही पनि काम गर्दा रहेनछन् सबै गफ गरेर बसेका, महिलाहरु स्वीटर बुन्दा रहेछन् । मैले त्यो सब स्वीटर बुन्ने सामान खोसेर झ्यालबाट फ्याँकिदिएँ र भनेँ– स्वीटर बुन्ने भए घर जाऊ, सरकारले स्वीटर बुन्न यो तलब दिएको होइन, अफिसमा त जनताको काम गर्नुपर्छ ।’ जुवा खेलिँदो रहेछ । त्यो पनि रोकाएँ । कतै जुवा खेलेको थाहा पाएँ भने म आफैं त्यहाँ पुग्छु बदमासी गर्नेलाई म आफैं पक्रिन्छु ।

म घर झगडा पनि मिलाई दिन्छु । लोग्ने स्वास्नी छुट्टिन खोज्यो भने तलाक पनि म आफैं गराइ दिन्छु । र लोग्नेलाई भन्छु, हरेक महिना आफ्नो तलबको आधा बूढीकहाँ पु¥याइदिनू, नत्र सरकारले नै कट्टी गरेर पु¥याइदिन्छ । यसपल्ट गिनिज बुकमा पनि लेखिएको छ– सबैभन्दा कम अपराध हुने राज्य सिक्किम हो भनेर । मलाई पुलिसमाथि विश्वास छैन । मैले आफ्ना मान्छे छ्याप्छ्याप्ती फिजाएको छु । पुलिसभन्दा मेरा ती मान्छेले राम्ररी काम गर्छन् । म पनि आफ्नो पार्टीको कार्यकर्ताका लागि ज्यान दिन तयार छु । उनीहरुकै सहयोगले त म सफल भएको हुँ । मेरो काम गराई यस्तै छ । यो तानाशाही हो कि के हो तपाईं आफैं छुट्याउनुस् । यदि म इदी अमीन भएको भए जनताले मलाई यसरी भोट दिन्थे ?

नेपाल भारत सम्बन्धलाई तपाईं कसरी हेरिरहनुभएको छ ? खासगरी भारतको एउटा मुख्य मन्त्रीका रूपमा ...

तपाईंले मलाई अघि पनि ‘भारतीय, भारतीय’ भन्न खोज्नुभयो । तर म दिल खोलेर भनिदिन्छु– म भारतीय होइन, म नेपाली हुँ, सिक्किमे हुँ । भारतवासी हुँ । यहाँको मुख्यमन्त्री हुँ, तर नेपाली हुँ । कसै कसैले त मैले नेपालको नागरिकता नै लिइसकेको छु, नेपालमा मेरो जग्गा छ, त्यहाँको बैंकमा मेरो पैसा छ, त्यो हिसाब मिलाउन म बराबर काठमाडौं जान्छु भनेर प्रचार गरेका छन् । नेपालको एउटा पत्रिकाले पनि लेखेको छ रे । म यस्तो प्रचारदेखि डराउँदिनँ । तर, नेपालप्रति मेरो असाध्यै सहानुभूति र माया छ ।

दुई वर्षअघि भारत–नेपाल सम्बन्ध चिसिएको बेला गृहमन्त्रीले छलफल गर्न डाकेको बैठकमा मलाई पनि बोलाएका थिए– युपी, बिहार र बंगालका मुख्यमन्त्रीसँगै । पहिले मलाई बोल्न भने । मैले भनेँ, ‘नेपाललाई दुःख दिएर फाइदा छैन । कुरा गर्नुपर्यो, मिल्नुपर्यो । मलाई विश्वास छ, अरू मुख्यमन्त्रीले पनि यही भन्नुहोला ।’

यसरी मैले फसाइदिएपछि उनीहरूले पनि ‘हो भण्डारीजीले ठिक भन्नुभयो’ भने । मैले गृहमन्त्रीलाई यो पनि भनेँ, ‘नेपाल भनेपछि मलाई असाध्यै माया लाग्छ । मेरो देश तिमीहरूले खाएको बेला म गुहार माग्न त्यहीँ गएको थिएँ । नेपालले मलाई साथ दिएको पनि हो । तर, बिचरा आफैं तिमीहरूबाट पेलिएको छ, कति गरोस् ?’ मैले भनेँ, ‘नेपाल जाँदा मैले भारत र नेपालको सीमाना नै छुट्टयाउन सकिनँ ।’ उसले ‘किन’ भनेर सोध्यो । मैले भनेँ, ‘नेपाललाई मधिसेहरूले खाइसकेछन् । तिमीहरूले अब नेपाललाई पनि सिध्याउने भएछौ ।’

नेपालले त्यसरी माया गरेर दिएको जगदम्बाश्री पुरस्कार तपाईंले लिन अस्वीकार गर्नुको खास कारण के थियो त ?

त्यो पुस्कार मैले लिन नचाहेको होइन । तर, मैले कुनै पुरस्कार पाउनासाथ कुरै नबुझी पुरस्कार थाप्न दौडिन मिल्दैन । किनभने, नेपाली भाषा र साहित्यसित मात्र मेरो सम्बन्ध छैन । म भारतको एउटा राज्यको मुख्यमन्त्री हुँ, सत्तारुढ पार्टीको प्रेसिडेन्ट हुँ, भा.ने.रा.प.को अध्यक्ष हुँ । त्यसकारण कुन कुराको असर कहाँ पर्छ भन्ने बुझेर मात्रै कुनै काम गर्नुपर्छ ।

त्यो पुरस्कार मलाई दिने निर्णयमा ‘नेपाल बाहिर बसेर’ पनि नेपाली भाषाको सेवा गरेकाले पुरस्कार दिइएको लेखिएको रहेछ । यो शब्दको अनेक व्याख्या हुनसक्छ । यस्तो अर्थ पनि लगाउने सम्भावना थियो कि यी सिक्किमे नेपाली चाहिँ सबै नेपालकै हुन् । मैले त्यो पुरस्कार थापेको भए नेपाली भाषा विदेशी नै रहेछ भन्ने अर्थ लगाइन्थ्यो । यदि मैले त्यो पुरस्कार थापेको भए यो इस्यू यति भयंकर हुन्थ्यो कि हिन्दुस्तानका सारा नेपालीलाई यो अभिशाप हुन्थ्यो । रमाइलो कुरा के छ भने पुरस्कार घोषणा हुनासाथ मलाई बधाई पत्र आयो, आएको आयै । बधाईको बाढी नै आयो । तर, जब मैले अस्वीकार गरेँ, त्यसपछि धन्यवादपत्र आउन थाल्यो । त्यसको पनि बाढी । पहिले बधाई पठाउनेहरूले नै अहिले धन्यवाद पठाइरहेका छन् । रुचेको गाँस होस्, चाहे नरुचेको गाँस होस्, बाध्य भएपछि खानैपर्छ । हामी गर्दनभन्दा माथि त भारतीय छैनौं नि, गर्दनभन्दा मुनि मात्र भारतीय हौं, यो सबैलाई थाहा छ ।

यहाँको एउटा सानु नानीलाई सोध्यो भने पनि उसले आफूलाई इन्डियन भन्दैन । गर्दनभन्दा मुनि त ‘इन्डियन नै हुँ’ भन्नैपर्यो । यस स्थितिमा नेपालले मलाई ‘नेपाल बाहिर बसेर’ भन्दा के अर्थ लाग्छ ? तपाईंहरूको एउटा स्वतन्त्र राष्ट्र छ । 

यहाँको एउटा सानु नानीलाई सोध्यो भने पनि उसले आफूलाई इन्डियन भन्दैन । गर्दनभन्दा मुनि त ‘इन्डियन नै हुँ’ भन्नैपर्यो । यस स्थितिमा नेपालले मलाई ‘नेपाल बाहिर बसेर’ भन्दा के अर्थ लाग्छ ? तपाईंहरूको एउटा स्वतन्त्र राष्ट्र छ । आफ्नो अस्तित्व छ । राजा छ, प्रजा छन् । व्यवस्था भन्ने कुरो आउँछ जान्छ, तर राष्ट्र त छ । तर, हामी ? हामीलाई नेपालले ‘प्रवासी’ भन्छ र यताबाट पनि लखेटिएका छौं । उताबाट उछिट्टिनु र यता पनि कसैले आफ्नो नठान्नु– आखिर हामी कताका हौं त ?

अर्को कुरा, हिन्दुस्तानका अरू नेपाली र सिक्किमका नेपाली फरक छ । हामी ‘प्रवासी’ नेपाली होइनौं । हाम्रो एउटा राष्ट्र थियो, छुट्टै राजा थियो । हामी आफ्नो राजाको सिन्दुर पहिरेका नेपाली हौं । यस्तो स्थितिमा ‘नेपाल बाहिर बसेर’ भन्ने शब्दले अनर्थ गराउँथ्यो । उनीहरूलाई के खोज्छस् कानो आँखो भनेझैं हुन्थ्यो । मैले पुरस्कार थापेको भए उनीहरू तुरुन्तै त्यो प्रमाणपत्र लिएर आई भन्ने थिए, ‘मिस्टर भण्डारी, यु आर नेपाली फ्रम नेपाल । नेपाल ने कह दिया कि तुम नेपालके हो और इसे तुमने स्वीकार भी किया’ (हाँस्दै) मलाई त शंका लाग्छ, कमल दीक्षितजीसित भेट भयो भने सोध्नुछ, ‘के तपाईंलाई ‘र’ ले फिट गरेको त छैन– भण्डारीलाई यस्तो सर्टिफिकेट दिउँ र डुबाइदिउँ भनेर ?’

के यसलाई बहिष्कार हुनबाट जोगाउन सकिँदैन थियो ? त्यसको भाषा फेरेको भए ...

हो सकिन्थ्यो । पहिले सल्लाह भएको भए र सुरुमा मलाई लेखिएको चिठी (प्रशस्तिपत्र) पहिले नै प्रकाशमा नआएको भए । यसलाई अस्वीकार हुनबाट तर्काउन सकिन्थ्यो । पछि दीक्षितजीले चिठी पठाउनुभयो— स्थितिलाई तर्काउन सकिन्छ कि भनेर । पहिले नै फर्काइ सकेपछि अब के तर्काउने ? पत्रमा भाषाबाहेक अर्को पनि कुरा छ । मैले दीक्षितजीलाई पठाएको चिठीमा यो पनि खुलाएको छ– तपाईंहरूले यो पुरस्कार मलाई नेपाली भाषालाई समुन्नति गरेकोमा दिनुभएको रहेछ, तर मेरो मञ्जिल पूरा चाहिँ भएको छैन । नेपाली भाषालाई जतिसुकै सेवा गरेको भए पनि मेरो मञ्जिल चाहिँ नेपाली भाषालाई भारतको संवैधानिक मान्यता दिलाउनु नै हो । त्यो पूरा नभएसम्म म कुनै पनि पुरस्कार थाप्न योग्य छैन ।

.................