धरान, जेठ १२ गते । वक्तृत्वकला प्रतियोगीता एसइइ स्पिकरको छैठौँ संस्करण मङ्गलबार धरानमा सम्पन्न भएको छ । प्रतियोगीताको फाइनलमा विद्यार्थीहरुले नमुना संसद सञ्चालन गर्दै नेपालको संसदको अभ्यास गरेका थिए ।   

धरान–८ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको सभाहल केही घण्टाका लागि वास्तविक संसद् जस्तै बनेको थियो, जहाँ विद्यार्थीहरूले शिक्षा नीतिमाथि बहस गरे, नियमापत्ति उठाए, मन्त्रीले जवाफ दिए र अन्ततः ‘विद्यालय शिक्षा विधेयक–२०८३’ बहुमतले पारित गरे ।

¥याडिकल लाइट नेपाल प्रालीद्धारा आयोजित धरान उप–महानगरव्यापी सो प्रतियोगीताको यस संस्करणमा प्रतियोगीताको अंशको रुपमा नमुना संसद समावेश गरिएको थियो । प्रतियोगितामा पब्लिक हाईस्कुलबाट एसइइ उत्तीर्ण तमन्ना बान्तावा राई विजेता बनिन् ।

धरान–६ स्थित सरस्वती मा.बि.बाट एसइइ उत्तीर्ण प्रीन्जा विश्वकर्मा फस्ट रनरअप, धरान–५ स्थित डिपी बिलिभर्स इङ्लिस स्कुलबाट एसइइ उत्तीर्ण खुशी लिम्बू सेकेन्ड रनरअप तथा जेम सेकेन्डरी बोर्डिङकी पुजा बान्तावा राई थर्ड रनरअप घोषित भइन् ।

सब–टाइटलतर्फ सरस्वती मा.बि.की रचना श्रेष्ठ ‘मस्ट पङ्चुअल’, हिमालयन बोर्डिङकी जेनिसा थापा ‘मस्ट डिसिप्लिन’ तथा हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलकी फुङ्निमा लिम्बू ‘बेस्ट प्रेजेन्टेसन’ घोषित भईन् ।

यस वर्ष प्रतियोगितालाई परम्परागत भाषण प्रतियोगिताभन्दा फरक बनाउँदै दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा सहभागीहरूले गोलाप्रथाबाट प्राप्त शीर्षकमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

‘सामाजिक सञ्जाल ः अवसर कि चुनौती ?’, ‘युवा र राष्ट्रप्रेम’, ‘देश विकासका लागि शिक्षा कि सीप ?’ र ‘युवाका लागि स्वदेशमा अवसर कि विदेशमा भविष्य ?’ जस्ता समसामयिक विषयमा विद्यार्थीहरूले तार्किक र प्रभावशाली प्रस्तुति दिएका थिए । उक्त चरण ७५ अंकको रहेको थियो ।

प्रतियोगिताको दोस्रो तथा सबैभन्दा आकर्षक चरण ‘नमुना संसद्’ रह्यो, जसले कार्यक्रमलाई पूर्णतः फरक पहिचान दियो ।

नमुना संसदमा सभामुखको भुमिकामा रहेकी तमन्ना बान्तावा राईले बोल्न समय दिए पछि शिक्षा मन्त्रीको भूमिकामा रहेकी प्रीन्जा विश्वकर्माले ‘विद्यालय शिक्षा विधेयक–२०८३’ प्रतिनिधि सभामा पेश गरेकी थिइन् । प्रधानमन्त्रीको भुमिकामा रहेकी खुशी लिम्बुले संसदको बैठकमा बिशेष सम्बोधन गरिन् । त्यसपछि सभामुख तमन्ना बान्तावा राईले सांसदहरू रचना श्रेष्ठ, पुजा बान्तावा राई, फुङ्निमा लिम्बू, जेनिसा थापा, प्रमिसा राई र असक्ता राईलाई पालैपालो धारणा राख्न समय प्रदान गरेकी थिइन् ।

छलफलपछि सभामुख तमन्ना बान्तावा राईले विद्यालय शिक्षा विधेयक निर्णयार्थ प्रस्तुत गरेकी थिइन् । बिधेयकको पक्षमा बहुमत देखिए पछि सभामुखले विधेयक बहुमतले पारित भएको घोषणा गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि धरान उप–महानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले नमुना संसद् अत्यन्त रचनात्मक र प्रभावकारी लागेको प्रतिक्रिया दिए । उनले यस्ता कार्यक्रमले युवाहरूलाई लोकतन्त्र, बहस संस्कार र नेतृत्वबारे व्यवहारिक अनुभव दिने बताए ।

विशेष अतिथि सहिद स्मृति मा.बि.का प्रधानाध्यापक राम विष्टले कतिपय वर्तमान सांसदभन्दा नमुना संसद्का विद्यार्थीहरूले राखेका तर्क अझ परिपक्व लागेको टिप्पणी गर्दै सहभागीहरूको प्रशंसा गरे ।

प्रतियोगिताको निर्णायकमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोही र मकालु इङ्लिस बोर्डिङ इटहरीका शिक्षक जेपी काफ्ले रहेका थिए ।

प्रतियोगितामा विजेताले नगद १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । फस्ट रनरअपलाई ५ हजार, सेकेन्ड रनरअपलाई ३ हजार तथा थर्ड रनरअपलाई १ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । सब–टाइटल विजेताहरूलाई पनि जनही १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

................