गान्तोक, सिक्किम निवासी युवराज घलेभाइले प्रतिनिधि युवा कवि तथा साहित्यकारका रूपमा आफ्नो पहिचान बनाइसकेकाछन् । अनलाइन न्युजपोर्टल, प्रिन्ट मिडिया र पत्रपत्रिकामा निरन्तर लेखिरहने घलेभाइ सन् १९९० को दशकदेखि नेपाली साहित्य र पत्रकारितामा क्रियाशील छन् । नेपाल र भारतका विभिन्न पत्रिका तथा अनलाइन पत्रिकाका संवाददाताका रुपमा क्रियाशिल उनी व्यङ्ग्य लेखक र स्तम्भकार पनि हुन् । उनको पहिलो कृति २००८ मा ‘आव्हान एउटा क्रान्तिको’ कवितासङ्ग्रह प्रकाशित छ । ‘क्रान्तिका समवेत स्वरहरु’, ‘आन्दोलनले जन्माएका कलमहरु’ लगायत कृतिहरु प्रकाशोन्मुख छन् । तर यी कृतिहरु सामाजिक सन्जालमा भने सार्वजनिक भईसकेकाछन् । प्रस्तुत छ उनीसँग सतासी साप्ताहिकका सम्पादक सेलिङ केसीले लिनुभएको अन्तरवार्ता :
‘आन्दोलनले जन्माएका कलमहरु’ शीर्षक कसरी जुराउनुभयो ?
यो पुस्तक म बाँचेर आएको समयबाट निर्मित भएको हो । पुस्तकभित्र यस्ता नवोदित कलमहरू छन् जो सधैं सँगै हिड्न सकेनन्, छुटिगए । कोही राजनैतिक हिसाबले छुटे, कोही शैक्षिक हिसाबले छुटे, कोही सामाजिक, आर्थिक हिसाबले छुटे । कुनै न कुनै हिसाबले छुटे । त्यही भएर पुस्तकको शीर्षक समयले जन्माएका कलमहरु आन्दोलनमा परिणत भयो ।
पुस्तक बजारमा आएपछि कस्तो प्रतिक्रिया पाउनुभयो ?
एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छु सामाजिक संजालमा मात्रै । पुस्तक बजारमा आईहालेको छैन, आउन बाँकी नै छ । थोरै सोचेको थिएँ, शुभकामना बधाई धेरै पाएँ । थोरै सोचेर धेरै पाउनुको खुशीमा छु अहिले ।
प्रायः कुन समयमा लेख्नुभयो ?
मेरो लेख्ने निश्चित समय छैन । लेख्ने विषय धेरैजसो यात्राका क्रममा सोचें । सोचेको कुरा घरमा जुनसुकै बेला पनि लेखें ।
लेखनमा कसरी प्रवेश गर्नुभयो ?
अरूसँग रिसाउने तर झगडा गर्न नसक्ने । समाजमा भएका अनेक विषयसँग रिसाउने तर चिच्याएर अभिव्यक्त गर्न नसक्ने । यस्तो बेला लेखेर शान्त हुन्थें । शुरुका दिनमा लेखनलाई रिस वा विद्रोहको माध्यमका रूपमा प्रयोग गरेँ । पछि लेख्न बानी भयो ।
कस्ता खालका पुस्तक पढ्न रुचाउनुहुन्छ ?
समयअनुसार रुचि पनि फेरिँदो रहेछ । पहिले–पहिले फिक्सन पढ्थें । अचेल ननफिक्सन पढ्छु । इतिहास तथा यात्रासम्बन्धी पुस्तकमा रुचि छ ।
स्कुल, कलेज पढ्दा जीवनमा के बन्ने सपना पाल्नुभएको थियो ?
म यस्तो परिवारमा हुर्किएँ कि स्कुल पढुन्जेल के बन्ने भनेर सपना देख्नुपर्छ भन्ने नै भएन । कुनै सपनै थिएन । पछि समयले जे–जे बनाउँदै गयो त्यहीँ–त्यहीँ बन्दै गएँ ।
लेख्न बस्दाका आनिबानीबारे बताइदिनुस् न ।
लेख्न बस्दा कहिलेकाहीँ एकदमै छट्पटी हुन्छ । लेख्दा–लेख्दै एक दुइ लाइन राम्रो लेखें भनें जुरुक्क उठेर घरका कोठाहरू चहार्छु । भान्सा पस्छु । चिया पकाउँछु । कहिलेकाहीं एक चक्कर गाउँ पनि डुल्छु । अनि फेरि आएर लेख्न थाल्छु ।
तपाईको प्रिय विधा ?
कविता, कविता भएन भने अरु कुनै विधाको स्वाद हुँदैन ।
तपाईका प्रिय लेखक को हुन् ?
लेखक भनेको व्यक्ति हो । व्यक्ति मन पर्नु–नपर्नु फरक कुरा हो । एउटै लेखकबाट लिखित फरक–फरक पुस्तकमध्ये कुनै एउटा वा दुईटा पुस्तक मात्र पनि मन पर्न सक्छ । जस्तै मलाई अमर न्यौपानेको ‘सेतो धर्ती’ असाध्यै मन पर्छ । हरिभक्त कटुवालको ‘यो जिन्दगी खै के जिन्दगी’ तथा भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ मन पर्छ । यी उदाहरण मात्र हुन् ।
अरूलाई कुन पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ ?
यो आफ्नो रुचिमा भर पर्ने कुरा हो । मेरो सिफारिस खासै छैन । मेरो रुची यात्रा सम्बन्धी पुस्तकमा छ, त्यसैले, नेपाली पुस्तकमा मोहन मैनालीका पुस्तकहरू पढ्नुस् भन्छु ।
लेख्न चाहेको तर लेख्न नसकेको विषय केही छ कि ?
थुप्रै छन् नि । जस्तै : एउटा शरणार्थीको संघर्षको कथा लेख्न रहर छ ।
.................




















