धरान, बैशाख १२ गते । लिम्बू पत्रकार संघ सुनसरीले लिम्बु पत्रकार पुरस्कार स्थापनाको घोषणा गरेको छ । सुनसरी जिल्ला कार्यसमितिको शुक्रबार धरानस्थित किरात याक्थुङ चुम्लुङ हिममा सम्पन्न प्रथम वार्षिक साधारण सभामा सो घोषणा गरिएको हो ।
जिल्ला अध्यक्ष स्वर्णिमहाङ लिम्बुको अध्यक्षतामा आयोजित कार्यक्रममा पुरस्कारका लागि रु. १२ लाख ७९ हजार ६०४ रुपैयाँ ३३ पैसाको अक्षयकोष स्थापना गरिएको जानकारी गराइएको थियो ।
कार्यक्रममा अध्यक्ष लिम्बुले दिएको जानकारी अनुसार अक्षयकोषबाट प्रत्येक वर्ष ५ जना पत्रकारलाई नगदसहित सम्मानपत्र प्रदान गरिनेछ । जसमा २ जना लिम्बू भाषामा समाचार वाचन तथा किरात शिरिजङ्गा लिपिमा लेखन÷योगदान गर्ने र ३ जना लिम्बू समुदायको भाषा, लिपि, संस्कार, संस्कृति, इतिहास तथा मुन्धुम विषयमा कलम तथा भिडियोमार्फत योगदान पु¥याउने पत्रकार रहनेछन् । तीमध्ये १ जना गैर–लिम्बू पत्रकारलाई पनि समावेश गरि नगद सहित सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा सचिव टिना हुक्पाचोङ्बाङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष तारादेवी लिम्बुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अक्षयकोष स्थापनामा सहयोग गर्ने दाताहरूलाई सम्मानपत्र सहित सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, फोनिज सुनसरीका अध्यक्ष सुनिल चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभयो । वरिष्ठ पत्रकार हर्ष सुब्बा, संघका जिल्ला सल्लाहकार डम्बर कुमार तुम्बापो, ताजुब लिम्बूलगायतको उपस्थिति रहेको थियो ।
...........




















