धरान, फागुन १४ गते । निर्वाचन नजिकिदै जाँदा सुनसरी–१ का नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट तारा चिन्हबाहक उम्मेदवार मनोज भट्टराईको घरदैलो धरान बजारक्षेत्रमा केन्द्रित भएको छ । 

बिहीबार धरानको मुख्य व्यापारिक क्षेत्रहरू भानुचोक, नयाँ बजार, महेन्द्रपथ, पुरानो बजार, रत्न रोड, गीता मन्दिर, छाता चोक लगायतका स्थानमा घरदैलो सम्पन्न भएको थियो । बजारक्षेत्रका धरानवासीले उम्मेदवारको टिमलाई उत्साहका साथ स्वागत गरेका थिए । स्थानीयवासीले खादा तथा मालाले सम्मान गर्दै जितको शुभकामना दिएका थिए ।

धरान ३ का सुनचाँदी व्यवसायी कुमार विश्वकर्माले मनोज भट्टराई चुनावको बेला मात्र नभई कुनैपनि बेला सुख–दुःखमा साथ दिने व्यक्तित्व भएकाले आफु र आफ्नो परिवारले उहाँलाई नै मत दिने सल्लाह भएको बताउनुभयो । रत्न रोडस्थित जोन गोल्ड सपका सञ्चालक बमबहादुर ल्वागुनले मनोज धरानमै जन्मेर हुर्किएको र सुनसरी–१ का विभिन्न क्षेत्रका समस्याबारे जानकार भएकाले योग्य उम्मेदवार भएको बताउनुभयो ।

घरदैलोका क्रममा उम्मेदवारको स्वागतमा सहभागी हुनुभएका नयाँ बजारका कपडा व्यवसायी अनिस श्रेष्ठले भन्नुभयो– ‘मनोज उर्जाशिल युवा हुनुहुन्छ, जित्नुभएमा संसदमा आफ्नो क्षेत्रको मुद्दा सशक्त रूपमा उठाउन सक्ने क्षमता छ, व्यापारीहरुका लागि पनि सहज व्यक्तित्व हुनुहुन्छ, त्यसैले योग्य उम्मेदवार उहाँ नै हो ।’

बजार क्षेत्रकै किराना व्यवसायी हिरा कार्कीले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्ने मनोज भट्टराईको प्रतिबद्धता आफूलाई सकारात्मक लागेकोले आफ्नो मत उहाँलाई नै जाने बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय बजार क्षेत्र मात्र नभई सुनसरी–१ मै मनोज भट्टराईको चुनावी माहोल बलियो बन्दै गएको छ ।.............