काठमाण्डौबाट गोविन्द आचार्यको सहयोगमा ।

धरान, मङ्सिर ६ गते । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन् । निर्वाचन आयोगले आयोजना गरेको राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँगको छलफलमा आफ्नो धारणा राख्दै उनले मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।

संयोजक प्रचण्डले विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापन लगायतका विषयमा विभिन्न प्रश्न तथा गुनासा उठ्ने गरेको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यस्ता समस्या दोहोरिन नदिन निर्वाचन आयोगको विशेष ध्यान जानुपर्ने बताए ।

उनले विगतका निर्वाचनमा कतिपय उम्मेदवारले आफ्नो मत हराएको, आफूले अपेक्षा गरेभन्दा फरक मतपरिणाम आएको तथा उम्मेदवारका प्रतिनिधिलाई मतपेटिका ओसारपसारका क्रममा सहभागी हुन नदिएको जस्ता गुनासा गरेको स्मरण गराए । आगामी निर्वाचनमा यस्ता प्रश्न उठ्ने अवस्था आउन नदिन निर्वाचन प्रक्रिया थप पारदर्शी र विश्वसनीय बनाउनुपर्ने उनको भनाइ थियो ।

प्रचण्डले गएको निर्वाचन सामान्य परिस्थितिमा सम्पन्न नभएको उल्लेख गर्दै लोकतन्त्रको निरन्तरता र संविधान कार्यान्वयनलाई गति दिन विभिन्न राजनीतिक दल तथा नेताहरूले विशेष भूमिका खेलेको बताए । निर्वाचनमा प्राप्त मत र जित–हार मात्र नभई लोकतन्त्रको निरन्तरता तथा संस्थागत विकासका लागि राजनीतिक दल र नेताहरूले निर्वाह गरेको भूमिकाको पनि मूल्याङ्कन हुनुपर्ने उनको धारणा थियो ।

निर्वाचनको समयतालिकाबारे बोल्दै प्रचण्डले संविधान र कानुनको व्यवस्थाभित्र रहेर निर्वाचन गर्नु उपयुक्त हुने बताए । स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभाको निर्वाचन मङ्सिरमा गर्ने गरी निर्वाचन आयोगले प्रस्तुत गरेको समयतालिका उपयुक्त देखिएको उल्लेख गर्दै उनले यस विषयमा पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा बनाउने बताए ।

त्यसैगरी, विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने विषयलाई उनले विशेष प्राथमिकताका साथ उठाए । शान्ति सम्झौतापछि पहिलो संविधानसभाको निर्वाचनको समयदेखि नै आफूले विदेशमा रहेका नेपालीहरूको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राख्दै आएको उनले बताए ।

विदेशमा रहेका नेपालीहरूको मतदान अधिकार सुनिश्चित गर्न प्राविधिक र कानुनी दुवै पक्षमा गम्भीर अध्ययन आवश्यक रहेको प्रचण्डको भनाइ थियो । यसका लागि नेपालीहरूको ठूलो सङ्ख्या रहेका देशका सरकारसँग नेपाल सरकारले द्विपक्षीय वार्ता र संवाद गर्नुपर्ने तथा निर्वाचन आयोगले पनि आवश्यक सहजीकरण गर्नुपर्ने उनले बताए ।

विदेशमा रहेका नेपालीहरूको मतदान अधिकार सुनिश्चित गर्न सके मात्रै निर्वाचनको विश्वसनीयता र नेपाली जनताको वास्तविक निर्णय गर्ने अधिकार थप सुदृढ हुने उनको धारणा थियो ।

निर्वाचन दुई चरणमा गर्ने विषयमा भइरहेको छलफलका सम्बन्धमा भने उनले आयोगको प्रस्तुति र सुझावलाई अध्ययन गरी पार्टीभित्र छलफल गरेपछि थप निर्णय लिने बताए ।

..............