धरान, साउन १५ गते । डिपोट माध्यमिक विद्यालयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिता सुरु भएको छ ।
विद्यालयको खेल मैदानमा आज भएको चार खेलमा क्रमशः हिमालयन मेघा एकाडेमी धरान, हिमशिखर इङ्लिस बोर्डिङ स्कुलल इटहरी, डिपो माध्यमिक विद्यालय धरान र दिल्ली पब्लिक स्कुल धरानले आफ्नो खेलमा जित निकालेका छन् ।
प्रतियोगितामा हिमालयन मेघा एकाडेमीले अरनिको इङ्लिस बोर्डिङ स्कुललाई ६१–३० अङ्कले पराजित गरेको थियो । खेलमा हिमालयन मेघाले प्रत्येक क्वाटरमा १२–८, १७–६, १५–७ र १६–९ अङ्कले जित निकालेको हो । यसैगरि हिमशिखर इङ्लिस बोर्डिङ स्कुलले सियोन स्कुल धरानलाई ३५–२३ अङ्कले पराजित गरेको थियो । हिमशिखरले प्रत्येक क्वाटरमा ७–५, १३–५, ७–५ र ८–८ अङ्कले जित निकालेको हो ।
यसैगरि डिपोट माध्यमिक विद्यालय र आइडल बोर्डिङ स्कुल धरानबीच भएको उद्घाटन खेलमा डिपोट विजयी भयो । डिपोटले २८–२० अङ्कले नतिजा आफ्नो पक्षमा पारेको थियो । खेलमा डिपोटले प्रत्येक क्वाटरमा १०–४, ४–२, ६–८ र ८–६ को नतिजा निकालेको थियो । यसैगरि ब्राइट फ्युचर एकाडेमी मोरङ खेल मैदानमा उपस्थित नभएपछि दिल्ली पब्लिक स्कुल धरानको स्वतः विजेता घोषित भएको थियो ।
कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरिएको यो प्रतियोगितामा मोरङ, सुनसरी र झापाका गरि १६ विद्यालयले भाग लिएकाछन् । साउन १५ देखि १९ गतेसम्म सन्चालन हुने यो प्रतियोगितामा विजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी, उच्च स्कोरर र राइजिङ प्लेयरलाई पनि ट्रफी तथा प्रमाणपत्र पाउनेछन् ।
यो प्रतियोगिता विद्यालयका पूर्व अध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा आयोजना गर्न लागिएको हो । संस्थापक अध्यक्ष लिम्बूको विद्यालयको नेतृत्व गरिरहेकै बेला कोरोना महामारीका कारण २०७८ साल साउन १५ गते निधन भएको थियो ।
............


