धरान, जेठ २३ गते । धरानमा शनिबार साहित्यिक कार्यक्रम काव्यकला कोलाज २०८३ सम्पन्न भएको छ । कार्यक्रममा फोटो प्रदर्शनीलाई पनि समावेश गरिएको थियो ।
धरानस्थित रत्न इन होटेलमा आयोजित कार्यक्रम कृष्ण पाख्रिन स्मृति प्रतिस्ठानको आयोजना र धरान उपमहानगरपालिकाको सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रमको पहिलो चरणमा धरानका पुराना फोटोग्राफर रोजेश शाक्य, दिपेश योञ्जन र राजेश शाक्यका धरान सहर झल्काउने विभिन्न समय र कोणका फोटोहरु प्रदर्शन गरिएको थियो । कार्यक्रमको दोस्रो चरणमा ‘हामीले बनाईरहेको मानिस’ शीर्षकमा मनोवैज्ञानिक रुकुम टमटा र प्रा.डा. इन्दिरा मिश्रले विचारविमर्श गर्नुभएको थियो । कवि राज माङलाकले बहसको सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको तेस्रो चरणमा ‘कथा धरानको’ शीर्षकमा डा. दिपक न्यौपानेले धरानको ऐतिहासिक तथा समसामयिक वर्णन गर्नुभएको थियो । अन्तिम चरणमा ‘इन्द्रेणी’ अन्तर्गत ११ जना कविहरुले आफ्नो मातृभाषामा कविता वाचन गरेका थिए । नेपाल भाषामा श्रेष्ठ परिक्रमा, थारु भाषामा रामचन्द्र चौधरी, याक्खा भाषामा हेन्सेन याक्खा ,सँस्कृत भाषामा भवानी शंकर भट्टराई, गुरुङ भाषामा मिश्रा गुरुङ, तामाङ भाषामा आइतु ग्यावा, मगर भाषामा लिला मगर, बान्तावा भाषामा भिम बिरही राईले कविता वाचन गर्नुभएको थियो ।
त्यसैगरी लिम्बु भाषामा बाली छथरे, धिमाल भाषामा वर्षा धिमाल, भोटे भाषामा निमा पोङ्सुवाले कविता वाचन गर्नुभयो । कार्यक्रमको सभापति कवि तथा उपप्राध्यापक राजेश विद्रोही र मुख्य अतिथी धरान उपमहानगरपालिका वडा नं. १३ का अध्यक्ष नेत्र काफ्ले रहनुभएको थियो । कार्यक्रमको सञ्चालन कवि इन्दु योन्जन नेपालले गर्नु भएको थियो ।
................




















