सवि मेवाहाङ

इमान्दार भवँरा सोध्छ फूललाई

गरिदिउँ मीठो भूल ?

फूललाई थाहा छ–

प्रत्येक बसन्तमा अनायासै हुन्छन् भूलहरू ।


ऊसँगको हरेक सान्निध्यमा

मुस्कान साटिँदा

लाजले पुष्पराज खस्छन्

उनका वैशालु नजर

परागहरूमा सेचन हुँदा

स्वर्णिम भूल हुन्छ ।


पर्दैन बसिरहन फूलमाथि

पर्दैन पत्रदल चाहार्न र पुष्पदल निमोठ्न

उसको सामिप्यतामै फूललाई

असीम समागमको अनुभूति हुन्छ

निर्वाङ्ग बन्छे ऊ त्यसै त्यसै

अनि समर्पित गर्छे आफूलाई ।


उसको भुनभुनाहटको पर्खाइको पराकाष्ठामा

एक्कासी नजर साटिँदा

फूल आफू बेमौसमी रङ्ग फेर्छे

ओइलाईसकेका पत्रहरू फेरि जवान बन्छन् 

खस्नै आँटेका परागहरू सम्मोहित हुन्छन् 

फूल अनुभूत गर्छे– अलौकिक रतिक्रीडा

अनि मुस्कुराउँछे लाजले फेरि ।


अविष्मरणीय छन् यी भूलहरू

अनि यी दिव्य अनुभूतिहरू

जसमा मधुर प्रेमक्रीडाको अन्दाज छ

तन्नेरी चुम्बनको झझल्को छ

र रसिलो मीठो भूल भएको छ ।


जवाफमा फूल भन्छे– 

सोधिरहनु पर्दैन

अख्तियारी छ तिमीलाई

दोहो¥याइरहन यी भूलहरू ।

......

धरान