धरान, चैत्र २७ गते । धरानस्थित पब्लिक हाइस्कुलले शुक्रबार ७९ औँ अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गरेको छ । सो अवसरमा वार्षिक परिक्षाको नतिजा पनि प्रकाशन गरिएको थियो ।

कार्यक्रममा युकेजी तह पूरा गरेका ५४ जना विद्यार्थीलाई दीक्षित गरिएको थियो । प्ले ग्रुपदेखि कक्षा–९ सम्मका विद्यार्थीहरूको वार्षिक परिक्षाको नतिजा पनि सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा प्रधानाध्यापक डा. इन्द्रमोहन झाले दीक्षित विद्यार्थीलाई प्रमाणपत्रसहित अबिर, खदा, गाउन र ह्याट लगाइदिएर दीक्षित गर्नुभएको थियो । 

प्रमुख अतिथि तथा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको प्रतिभा विकासका लागि प्रभावकारी वातावरण सिर्जना गरेको बताउनुभयो । उहाँले पब्लिक हाइस्कुल प्रदेशकै नमुना विद्यालयका रूपमा स्थापित हुँदै गएको बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य तथा गीत प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए । विज्ञान प्रदर्शनी र विभिन्न खाद्य स्टलहरू पनि राखिएको थियो ।

सोही अवसरमा विद्यालयको बार्षिक मुखपत्र ‘पियुस’को प्रमुख अतिथी कावा मेयर बेघाले विमोचन गर्नुभएको थियो । प्रधानाध्यापक डा. झाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने वार्षिक खेलकुदमा उत्कृष्ट हुने छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो ।

...........