धरान १२ स्थित पब्लिक हाइस्कुल ख्यातिप्राप्त सामुदायिक विद्यालय मध्ये एक हो । यो विद्यालय नेपाल सरकारद्धारा नमुना विद्यालयका रुपमा छनौट भएको विद्यालय हो । यस विद्यालयले विद्यार्थीहरुलाई व्यवस्थित, आधुनिक, सुविधासम्पन्न र व्यवहारिक ज्ञान दिने विद्यालयको रुपमा आफ्नो परिचय बनाएको छ । यस विद्यालय उत्तिर्ण गरी विभिन्न क्षेत्रमा उल्लेख्य प्रगति गरेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरको उच्च ओहदामा पुगेका पुर्वविद्यार्थीहरुको फेहरिस्त निकै लामो छ ।  

पछिल्लो समय पनि यहाँबाट उत्पादित विद्यार्थीहरुको सफलता लोभलाग्दो छ । विद्यालयका विज्ञान शिक्षक किशोर चौधरीका अनुसार यस विद्यालयबाट उत्तिर्ण भएका विज्ञान संकायका विद्यार्थीहरु मध्ये शाहिल शाक्यले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस, जर्मन पाख्रिनले केन्द्रिय आयुर्वेद विद्यापिठमा बिएएमएस, सेफाली लिम्बु र समीक्षा नेपालीले विपी प्रतिष्ठान धरानमा विएस्सी नर्सिङ, रहरमान खतिवडाले मनमोहन मेमोरियल युनिभर्सिटीमा बिईमा पुर्ण छात्रवृत्ति प्राप्त गरी अध्ययन गरिरहेकाछन् । यही अध्ययन गरेकी विद्यार्थी क्रियता श्रेष्ठ केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार धरानमा खाद्य प्रविधिमा आँशिक छात्रवृत्ति प्राप्त गर्न सफल भएकी छिन् । 

विद्यालयले २०८१ साल चैत्र ६ गते बुधबार आफ्नो ७८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मत कार्कीले गर्नुभयो । 

तीन दिवसीय वार्षिकोत्सव तथा अभिभावक दिवसको अन्तिम दिन चैत्र ६ गते विद्यालयले आफ्नै विद्यार्थीहरुले कक्षामा सिकेका विषयगत सिर्जनाहरुको प्रदर्शनी पनि राखेको थियो । विज्ञान, इलेक्ट्रिकल, ब्युटिसियन, होटल म्यानेजमेन्ट लगायत संकायका विद्यार्थीहरुले कक्षामा सिकेको ज्ञानलाई आफ्नो विषय शिक्षकको सहयोगमा प्रदर्शनीमा राखेका थिए । प्रदर्शनीमा राखिएका स्टलहरु र यसबारे विद्यार्थीहरुको ब्रिफिङ सुन्दा पब्लिक हाइस्कुलका विद्यार्थीहरु निकै मिहनेती, मेधावी र अब्बल रहेछन् भन्ने प्रष्ट हुन्छ । 

.............