धरान, बैशाख १५ गते । -याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ्चालन हुँदै आएको एसइइ स्पिकर कार्यक्रम यस वर्षदेखि धरान उपमहानगरस्तरीय रूपमा आयोजना गरिने भएको छ ।

पत्रकार सम्मेलनमार्फत दिइएको जानकारी अनुसार २०७८ सालदेखि सुरु गरिएको यस कार्यक्रमको उद्देश्य एस.ई.ई. परीक्षा दिएर बसेका विद्यार्थीहरूको खाली समयको सदुपयोग गर्दै उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै व्यक्तित्व तथा नेतृत्व क्षमता विकास गर्नु रहेको छ । 

यस वर्षको सिजन–६ मा नमुना संसद अभ्यास समावेश गरिएको आयोजक संस्थाका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिनुभयो । नयाँ मूल्यांकन प्रणालीअनुसार कुल १०० पूर्णाङ्क मध्ये ७५ अङ्क वक्तृत्व प्रस्तुति र २५ अङ्क नमुना संसद अभ्यासबाट प्रदान गरिनेछ । विद्यालय तहमा सामाजिक शिक्षाअन्तर्गत कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तथा कानुन निर्माण प्रक्रियासम्बन्धी ज्ञानलाई व्यवहारिक रूपमा बुझाउने उद्देश्यले उक्त अभ्यास समावेश गरिएको हो । आयोजक संस्थाका अध्यक्ष कार्कीका अनुसार यसले विद्यार्थीहरूलाई व्यवहारिक सिकाइसँगै भविष्यमा नेतृत्वदायी भूमिकामा अघि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

विगतमा कार्यक्रमलाई प्रदेशस्तरीय आयोजना गरिएको भए पनि धरान तथा सुनसरी बाहिरका जिल्लाबाट सहभागिता न्यून हुनुका साथै विभिन्न चरणमा हुने प्रतियोगितामा उपस्थित हुन कठिनाइ भएको गुनासो आएपछि यस वर्षदेखि कार्यक्रमलाई धरानस्तरीय बनाइएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको छनोट चरण २०८३ साल वैशाख १८ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेतालाई नगद रु. १५ हजारसहित ट्रफी र प्रमाणपत्र, फष्ट रनरअपलाई रु. ७ हजार, सेकेन्ड  रनरअपलाई रु. ३ हजार र थर्ड रनरअपलाई रु. १ हजार ५०० नगदसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

...........