धरान, फागुन १७ । धरान ४ सुमनटारमा शनिबार एकदिवसिय आँखा उपचार शिविर सम्पन्न भएको छ ।
रानी अस्पताल प्राली बिराटनगरको आयोजना, सुमनटारस्थित सिंहदेवी आधारभूत बिद्यालय र सुमनटार टोलसुधार समितिको व्यवस्थापनमा शिविर सम्पन्न भएको हो ।
शिविरमा १० वर्षका बालबालिकादेखि ९० बर्षसम्मका वृद्धवृद्धाहरुले आँखा तथा कानको जाँच गरेका थिए । जम्मा १५० जनाको जाँच गरिएकोमा २० जनामा मोतियाबिन्दु र दुई जनामा पिजिटी (आँखामा मासु पलाउने रोग) देखिएको डा. नरेन्द्र यादवले बताउनुभयो । रानी अस्पतालमा यी विरामीहरुको उपचारमा ५० प्रतिशत छुट रहेको पनि उहाँले जानकारी दिनुभयो ।
धरान उपमहानगरपालिका भएपनि दुर्गममा रहेको सुमनटारमा आएर निशुल्क आँखा तथा कान जाँच गर्नुभएकोमा रानी अस्पताल प्राली र स्वास्थ्यकर्मीहरुलाई सुमनटार टोलसुधार समितिका अध्यक्ष सुनबहादुर राईले धन्यवाद ज्ञापन गर्नुभयो । सुमनटार धरान बजारदेखि करिब ८ किलोमिटरको दुरीमा पर्दछ । सिंहदेवी आधारभूत बिधालयका प्रधानाध्यापक अभिषेक कटुवालले अस्पतालको यो सेवाबाट विद्यालयका विद्यार्थी अभिभावक साथै यस क्षेत्रका थुप्रै विरामी लाभान्वित भएको बताउँदै आगामी दिनमा पनि यस्तै सेवाको आशा राखेको बताउनुभयो ।
................




















