धरान, जेठ २४ । रानी आँखा अस्पताल प्राली विराटनगरको निशुल्क आँखा शिविर धरानमा सम्पन्न भएको छ । धरान उपमहानगरपालिका वडा नं. १९ को व्यवस्थापन र अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
सो अवसरमा आँखा र कानको निशुल्क जाँच गरिएको थियो । शिविरमा जम्मा १२५ जना सेवाग्राहीले आँखा तथा कान को जाँच गराएका थिए । जसमा २१ जनामा मोतियाबिन्दु र ३ जनामा पिजिटी (आँखामा मासु पलाउने) रोग देखिएको डा. नरेन्द्र यादवले जानकारी दिनुभयो । डा. यादव र डा. सिवानी कर्णको टिम शिविरमा खटिएको थियो ।
मोतियाबिन्दु र पिजिटी रोगको शल्यक्रिया गर्नु पर्ने भएमा बिरामीलाई रानी अस्पतालले ५०% छुटको ब्यवस्था गरेको अस्पतालले जनाएको छ । अस्पतालले विगत ७ महिनादेखि हरेक शनिबार धरानका विभिन्न स्थानहरुमा निशुल्क आँखा तथा कान शिविर सन्चालन गर्दै आएको छ ।
धरान १९ का वडाअध्यक्ष पुर्णबहादुर लिम्बुले निशुल्क सेवाको लागि अस्पताललाई हार्दिक धन्यवाद दिनुभयो । यसैगरी वडासदस्यद्धय झुमादेवी लिम्बु र चन्द्रमाया विश्वकर्माले पनि अस्पतालप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
...........




















