इटहरी, माघ ५ गते । कमेडियन गणेश इशारा राईले इटहरीमा आफ्नो एकल प्रस्तुति दिएका छन् । प्रतिभाशाली कलाकारका रुपमा परिचित उनको यो २० औँ एकल प्रस्तुति हो ।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा उनले शनिबार ‘गणेश इशारा राई अल नेपाल २० औँ एकल कमेडी शो’ सम्पन्न गरेका हुन् । बीरमाया राई (शोभोमा) स्मृति कोष निर्माण सहयोगार्थ आयोजना गरिएको उक्त कार्यक्रममा असहाय बालबालिका आश्रम इटहरीकी अध्यक्ष तथा समाजसेवी गीता गौतम प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।
विगत दुई दशकदेखि कमेडी विधामा क्रियाशिल उनी सामाजिक अभियन्ता समेत हुन् । उनले स्थापना गरेको उक्त स्मृति कोषमार्फत भोजपुर, सुनसरी, झापा लगायतका जिल्लामा रहेका मुटुरोग, क्यान्सर, मृगौला लगायत गम्भीर रोगबाट पीडित आर्थिक अभाव भएका गरिब तथा असहाय विरामीहरूलाई सहयोग गर्दै आएका छन् ।
कार्यक्रम संयोजक नवीन राईका अनुसार सामाजिक सेवाको उद्देश्यले सबैसँग सहयोगको अपिल गरिए पनि अपेक्षा अनुसार सहयोग जुट्न सकेको छैन । कार्यक्रममा गायक डिजराज पौडेल, गायिका पार्वती राई लगायतले गीत प्रस्तुत गर्नुभएको थियो । गङ्गा गौतम, सुनिता कटुवाल, सचिन राई लगायत कलाकारहरूले पनि आ–आफ्ना प्रस्तुति दिएका थिए ।
कलाकार गणेश इशाराले समसामयिक विषयवस्तुमा आधारित कमेडी प्रस्तुतीमार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गरे । ...........




















