कविता 

म यहाँ एउटा

सपना बोकेर आएकी छु 

बुकी फुल जस्तै

फुल्ने सपना लिएर

गाउँतिरै छाडेकी छु भीरपाखा, देउराली

अनि साना गोरेटोहरु


सहरमा बुढासुब्बा

बाँस झ्याङ रुङेर बाँचिरहेको छ

रातभर बत्तीमा जागेको सहर

बगरकोटमा डिस्को नाचिरहेको छ

सहरमा भाले कम

र घण्टाघर बढी बास्दोरहेछ

म यही सहरमा

सपना खोज्दै आएकी हुँ 


सपना 

पब्लिक स्कुलको चौरबाट देखिरहेकी छु

सपना

गुरुहरुको आवाजमा सुनिरहेकी छु 

गाउँ फर्केर जुनकीरी बन्ने सपना

यही स्कुलबाट देखिरहेकी छु ।


खोटाङ, हाल : धरान

.......