धरान, फागुन ४ । याक्थुङ चुम्लुङ केन्द्रिय समितिले मुक्कुमलुङमा केबलकार विषयमा आफ्नो धारणा बनाउन बाँकी रहेको बताएको छ । 

धरानमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा समितिका केन्द्रिय अध्यक्ष दिलसिंह मेन्याङ्बोले यस विषयमा केन्द्रिय समितिको बैठक चाँडै बसेर धारणा बनाउने बताउनुभयो । यद्धपि आफुहरु पहिचान पक्षधर भएको उहाँको भनाई थियो । याक्थुङ चुम्लुङ लिम्बुहरुको वास्तविक सामुदायिक साझा संस्था भएको दावी गर्द उहाँले इतिहास र सभ्यताका आधारमा आफ्नो पहिचान स्थापित गर्न आफुहरु लागिपरेको उहाँको भनाई थियो । 

केबलकार विवाद आफ्नै समुदायका युवाहरुले गोलि खानुपर्ने सम्मको संवेदनशील अवस्थासम्म आईपुग्दा पनि लिम्बुहरुको साझा संस्था दावी गर्ने सो समितिले केबलकारको मुद्धामा आफ्नो धारणा बनाउन नसक्नु रहस्यमय मानिएको छ । पत्रकार सम्मेलनमा सो समितिको दोस्रो महाधिवेशनबाट निर्वाचित कार्यसमितिको नामावली पनि सार्वजनिक गरिएको थियो । नामावली अनुसार केन्द्रिय समितिको दोस्रो बरियतामा रहेका समितिका उपाध्यक्ष पदम चेन्जी माबो मुक्कुमलुङमा केबलकार बनाउनुपर्छ भन्ने पक्षका मानिन्छन् । उनले यससम्बन्धमा विभिन्न मिडियामा अन्तरवार्ता दिने र फेसबुक पोष्ट मार्फत अभियान नै सन्चालन गरिरहेको र आफ्नै लिम्बु समुदायको विरुद्धमा परिचालित भइरहेको आरोप छ । 

यसैविच माबोलाई यही आरोप सहित ‘नो केबलकार समुह’ का अभियन्ताहरुले धरानमा कालोमोसो दलि कुटपिट गरेको घटना सार्वजनिक भएको छ । 

‘किरात’ शब्दमा आफुहरुको आपत्ति रहेको केन्द्रिय अध्यक्ष मेन्याङ्बोले बताउनुभयो । किरात भनेको पृथ्वीनारायण शाहले दिएको पगरी वा पद भएकोले यसले जातियता, मौलिकता, इतिहास र पहिचान प्रतिनिधित्व नगर्ने उहाँको भनाई थियो । लिम्बुहरुको सभ्यता याक्थुङ भएको दावी गर्दै उहाँले सभ्यताका आधारमा पहिचानको खोजी गर्नुपर्ने बताउनुभयो । किरात याक्थुङ चुम्लुङसँग आफुहरुको यही विषयमा मतभेद रहेको बताउँदै उहाँले सामुदायिक विभाजन गर्न खोजेको आरोपलाई भने अस्विकार गर्नुभयो । 

१ नं. प्रदेशलाई किरात नामाकरणको आन्दोलनमा आफुहरुको समर्थन नभएको बताउँदै अध्यक्ष मेन्याङबोले १ नं. प्रदेशको नाम लिम्बुवान हुनुपर्ने बताउनुभयो । 

............