धरान, फागुन ४ । मुक्कुमलुङमा केबलकार बनाउनुहुँदैन भन्ने पक्षका अभियानकर्मीहरुलाई पक्राउ गर्ने उद्धेश्यसहित सोमबार मध्यरात धरानस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा एक्कासी प्रहरी पुगेपछि यसको चौतर्फी विरोध भइरहेको छ ।
संस्कार, जातिय पहिचान, भाषा लगायत संरक्षणका लागि क्रियाशिल सामाजिक संस्थाको कार्यालयमा विना इजाजत प्रहरी घुसेर त्यहाँ रहेका संस्कृति संरक्षणकर्मीहरुका साथै स्थानियलाई समेत आतंकित पारेको भन्दै विभिन्न सामुदायिक तथा जातिय संघसंस्थाहरु विरोध गरेकाछन् । विभिन्न संघसंस्थाहरुले विज्ञप्ति मार्फत यसको भत्र्सना गरेकाछन् भने सामाजिक सन्जालहरुमा विरोधको क्रम जारी छ । नो केबलकार अभियन्ताहरुले आफ्नो सुझबुझले शान्तिपुर्ण आन्दोलन गरिरहेका बेला प्रहरी प्रशासन भने आगोमा घिउ थप्ने काम गरिरहेको भन्दै सो कदमको विरोध भइरहेको छ ।
केबलकार खारेजीको आन्दोलन जारी राखेका संघसंस्था तथा राजनैतिक दलहरुको साझा मोर्चा मुक्कुमलुङ ताङसेःप चुम्भोले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै पुर्व घोषित आन्दोलनका कार्यक्रमहरु यथावत र सशक्त ढङ्गले अगाडी बढाइने जनाएको छ ।

फागुन ६ गतेदेखि गरिने मुक्कुमलुङ पदयात्रामा सहभागी हुन सबैलाई विज्ञप्तिमा आग्रह गरिएको छ ।
चुम्लुङ हिममा मध्यरातमा प्रहरी घुसेको प्रति आपत्ति जनाउँदै सो मोर्चाले केपी ओली सरकारले राज्य आतङ्क सिर्जना गरेको दाबी गरेको छ । केपी ओली सरकारबाट परिचालित पदम चेन्जी माबोलाई आफ्नै समुदायको विरुद्ध खरो टिप्पणी गर्दै केबलकार बनाउनैपर्छ भनेर परिस्थिती भड्काउने गतिविधि गर्दै आएकोमा सोधपुछ र छलफल गर्न खोजिएको विषयलाई लिएर प्रहरी सामुदायिक संस्थाको कार्यालयमा विना इजाजत घुस्नु आपत्तिजनक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।




















