धरान, फागुन ८ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ओडिसा घटनाको तत्काल निष्पक्ष छानविन गरी नेपाली विद्यार्थीहरुलाई न्याय दिन भनेको छ ।
पार्टीका उपाध्यक्ष तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले विहीबार धरानमा सन्चारकर्मीहरुसँग कुरा गर्दै ओडिसास्थित किट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु शङ्कास्पद देखिएको बताउनुभयो ।
शङ्कास्पद मृत्यु भएकोले सो को तदारुकताका साथ छानविन गरी दोषीलाई हदैसम्मको कारवाही गरिनुपर्ने र मृतक लम्साल तथा उनको परिवारलाई न्याय दिनुपर्ने बताउनुभयो ।
लम्सालको अस्वभाविक मृत्यु पछि सोको छानविनको माग गर्दै नेपाली र भारतिय विद्यार्थीहरुको स्वतस्फुर्त प्रदर्शनमा खासगरी नेपाली विद्यार्थीहरुलाई भारतिय पक्षबाट गरिएको अमानविय व्यवहार दुखद भएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । सो को समेत तत्काल निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न र पिडितलाई न्याय दिलाउनुपर्ने पार्टीको धारणा रहेको उहाँले बताउनुभयो ।
नेपाल सरकारले परिपक्व कुटनितिका साथ यस घटनामा मृतक र नेपाली विद्यार्थीहरुलाई न्याय दिनुपर्ने पार्टीको धारणा रहेको उहाँको भनाई थियो ।
सो विश्वविद्यालयमा अध्ययनरत बुटवल घर भएकी प्रकृति लम्सालको विश्वविद्यालयको होस्टेलमा शङ्कास्पद मृत्यु भएपछि त्यहाँको अवस्था तनावपुर्ण बनेको थियो । कलेजमा अशान्ति सिर्जना गरेको भन्दै नेपाली विद्यार्थीहरुलाई शारिरिक र मानसिक रुपमा अमानविय व्यवहार गर्दै बलपुर्वक स्वदेश फिर्ता गरिएको थियो । अहिले धेरैमात्रामा विद्यार्थीहरु नेपाल फर्किसकेकाछन् । सम्पुर्ण घटनाको तत्काल छानविन गर्न विद्यार्थीहरुको आत्मसम्मानमा चोट पुग्ने कार्य गर्ने सबैलाई ठोस कारवाही गर्न माग गर्दै अझै पनि विश्वविद्यालयमा प्रदर्शन जारी रहेको विभिन्न भारतिय सन्चारमाध्यमले जनाएकाछन् ।
यस घटनामा विश्वविद्यालय पक्षले चालेको अपरिपक्व र अमानविय कदमप्रति भारतिय जनता र भारतिय मिडियाबाट पनि चर्को विरोध भइरहेको छ । भारतको मुख्य मध्ये एक पत्रिका टाइम्स अफ इन्डियाले सम्पादकीयमा लेखेको छ– ‘भारत, आफैलाई सिकाऊ ।’
.............




















