महावीर पुन सादगी जीवन र निस्वार्थ सेवाका जिउँदा उदाहरण हुन् । उनको दैनिक जीवनशैली र व्यवहार हेर्दा लाग्न सक्छ उनको परिवार छैन अथवा उनी एक्लै हुन् । तर त्यसो होइन । उनको परिवारमा दुई छोरीहरु झरना र जुना र श्रीमति ओममाया पुन छन् । उनीहरु पोखरामा भाडाको घरमा बसेकाछन् ।
आजभन्दा ३३ वर्ष अघि अमेरिकाबाट फर्किएपछि महावीरले कुनै जागिर खाएका छैनन् । पैसा कमाउने कुनै काम पनि गरेकाछैनन् । बरु आफ्नै सम्पत्ति खर्च गरी गरी समाजसेवा गरिरहेकाछन् । आफ्नो आत्मकथा ‘महावीर पुन ः सम्झना, सपना र अविरल यात्रा’ मा उनी भन्छन्– ‘मलाई पैसा कमाउने ढङ्ग नै भएन ।’ ७० वर्ष उमेर पुगीसक्दा पनि उनको ध्यान कमाउन र परिवार व्यवस्थापनमा पटक्कै छैन । समाजलाई केही नयाँ दिऊँ भन्ने ध्याउन्नमै भौँतारिरहेकाछन् । अहिलेसम्म शुभचिन्तकहरुबाट आएको सहयोगबाट नै आफु र आफ्नो परिवार चलेको उनले स्विकार गरेकाछन् ।
के बाँचुन्जेल यसरी नै चल्छ त ? सानी छोरी विदेश गएर एमबिबिएस पढ्छु भनिरहेकी छ । एक न एक दिन यी छोरीहरुको विवाह गर्नैपर्छ । आत्मकथामा उनले लेखेकाछन्– ‘म र मेरो श्रीमति एक न एकदिन हातखुट्टा नचल्ने अवस्थामा पुग्छौँ, मलाई सहयोग गर्ने मित्रहरु पनि कोही बुढा हुन्छन् कोही वितेर जान्छन् । त्यतिखेर पैसाको आवश्यकता कसरी पुरा हुन्छ ? मेरो जीवन कसरी चल्छ ?’
यही पिरलोले उनले आजभन्दा छ सात वर्ष अघि एउटा योजना सोचेका थिए– ‘७० वर्ष कटेपछि सबै कामबाट अवकाश लिने । मिहनेतका साथ आफ्नो जीवनकथा लेख्ने । विक्री गर्ने र आएको पैसाले परिवारको जिविका चलाउने ।’ तर यो उनको योजना एउटा सुखद घटनाले भताभुङ्ग भयो । त्यो थियो– ‘जनार्दन शर्मा प्रभाकर अर्थमन्त्री हुँदा विरगन्ज कृषि औजार कारखाना ब्युँताउने जिम्मेवारी राष्ट्रिय आविष्कार केन्द्रलाई दिने सरकारको निर्णय ।’
केही न केही जोखिम मोल्न चाहने महावीरलाई सरकारको यो निर्णयले उद्धेलित बनायो । सरकारले आफुलाई विश्वास गरेकोमा हर्षित पनि भए । तुरुन्तै उनले नेपाल सरकारसँग कारखानालाई ब्युँताएर सन्चालन हुने बनाउँछु भनेर सम्झौता गरे । यसका लागि करिब ३० करोड लागत देखियो । सम्झौतामा सरकारले वार्षिक बजेट दिने त भनेको छ तर सरकारी काम पुरा हुन्छ वा समयमै हुन्छ भन्नेमा उनलाई विश्वास भएन । अब उनी आफै पैसाको जोहो गर्नेतिर सोँच्न थाले तर पैसा जुटाउने अरु उपाय थिएन । अब उनले बुढेसकालको खर्च जुटाउन भनेर सोँचिराखेको त्यही आफ्नो जीवनकथा हतार हतार लेख्न शुरु गरे । उनले सोँचे– ‘मेरो व्यक्तिगत र पारिवारिक आवश्यकता त निकै सानो कुरा हो । मेरो आत्मकथाको पुस्तक बेचेको पैसाले कारखाना सन्चालन हुनसक्यो भने यो त देशकै लागि भयो ।’ महावीर अहिले त्यही आत्मकथा लेखिसकेर छपाईसकेर विक्री गर्दै ३७ जिल्ला घुमिसकेकाछन् । बाँकी ४० जिल्ला पुग्ने हतारमा छन् । पुस्तक विक्रीबाट अहिलेसम्म करिब १० करोड जम्मा गरिसकेकाछन् । अब २० करोडको पुस्तक विक्री गर्ने अभियानमा दौडीरहेकाछन् ।
तर महावीर पुनको परिवारीक व्यवस्थापनको समस्या भने जहाँको त्यही आइपुगेको छ । एउटा श्रीमान र बुबा हुनुको नाताले यसले उनलाई पक्कै पनि पिरोलिरहेको छ । तैपनि उनी आत्तिएका छैनन् । समाजसेवाको काममा एकोहोरिएर लागिपरेकै छन् । आत्मकथामा उनी भन्छन्– ‘समाजसेवा भन्दैमा म पारिवारीक जिम्मेवारीबाट पन्छिएको होइन । परिवारलाई भगवान भरोसा छोड्दिनँ । कुनै न कुनै उपाय पक्कै निस्केला नि त ।’
...............




















