धरान, चैत्र ६ । कथाकार शुभचन्द्र राईद्धारा लिखित कथाहरुको सङ्ग्रह ‘समयले जन्माएका कथाहरु’ बुधबार धरानमा एक कार्यक्रमका विच विमोचन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका पुर्व मेयर तथा किरात राई यायोक्खाका पुर्व केन्द्रिय उपाध्यक्ष तिलक राई, भाषाशास्त्री प्रा.डा. टङ्क न्यौपाने लगायतले विमोचन गर्नुभयो ।
किरात राई यायोक्खा सुनसरी जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा विमोचित कृतिको सम्पादन तथा प्रकाशन गर्भबारे पत्रकार तथा कृतिका सम्पादक अध्येता गणेश राईले प्रकाश पार्नुभएको थियो । प्रा.डा. न्यौपाने र कवि तथा आदीवासी जनजाति अभियन्ता गोपाल देवानले कृतिको समीक्षा गर्नुभएको थियो ।
समीक्षा मन्तव्य व्यक्त गर्दै प्रा.डा. न्यौपानेले विमोचित कृतिमा कथाकारले जनबोली बोलेको बताउनुभयो । कृतिले सर्वसाधारण व्यक्तिहरुका सरोकारका विषय र आवाज उठाएको उहाँले बताउनुभयो ।
अर्का समीक्षक देवानले कृतिमा नयाँ र फरक धारका कथाहरु सङ्ग्रहित रहेको बताउनुभयो । हालसम्म कथाहरुमा काल्पनिकता वा कथ्य लेखिँदै आएकोमा प्रस्तुत कथाहरुमा यथार्थ पात्र, संवाद, समय र ठाउँ उल्लेख भएकोले कृतिले ‘कथा यस्तो पनि हुन्छ’ भन्ने सन्देश दिएको बताउनुभयो ।
लामो समय धरानलाई कार्यक्षेत्र बनाएर किरात राई यायोक्खा लगायत विभिन्न संघसंस्था मार्फत समाजसेवामा क्रियाशिल कथाकार राई हाल बेलायतमा बसोबास गरिरहनुभएको छ । सुरुवातदेखि नै लेखन र पत्रकारितामा क्रियाशिल रहनुभएका राई किरात राई यायोक्खा सुनसरीको पुर्वअध्यक्ष हुनुहुन्छ । कुनैबेला उहाँको धरानबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकाहरुमा ‘गाउँघरबाट’ स्तम्भ चर्चित थियो ।
.............




















