धरान, बैशाख २० । एसइइ स्पिकर २०८२ को आयोजक संस्था ¥याडिकल लाइट नेपाल प्रा.लि.ले सेमिफाइनलमा प्रवेश गरेका सहभागीहरूलाई शनिबार वक्तृत्वकला तयारीसम्बन्धी प्रशिक्षण दिएको छ । 

प्रा.लि.को कार्यालयमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक तथा प्रतियोगीताका निर्णायक राजेश विद्रोहीले प्रशिक्षण दिनुभएको थियो । प्रतियोगितामा विषयवस्तुमा कसरी प्रवेश गर्ने, वक्तव्यलाई मौलिक कसरी बनाउने, तयारीको क्रममा आधिकारिक स्रोत कसरी लिने आदि विषयमा विद्रोहीले प्रशिक्षण दिनुभएको थियो । 

SEE cover2प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले माइक र पोडियमको प्रयोग गर्ने तरिका, हाउभाउ, दर्शकको ध्यान आकर्षित गर्ने गरी आकर्षक प्रस्तुति दिने तरिका तथा प्रेरणादायी भनाइका साथ निष्कर्ष प्रस्तुत गर्ने कुराहरूमा प्रशिक्षण दिनुभएको थियो । 

प्रशिक्षणमा सहभागी श्रद्धा शाक्यले पहिलो अडिसनमा धेरै डर लागेको भए पनि अहिलेसम्म आइपुग्दा धेरै आत्मविश्वास बढेको बताउनुभयो । अर्की सहभागी सोनिया राईले पहिलोपटक यस्तो प्रतियोगितामा भाग लिएकाले सुरुमा धेरै नर्भस भए पनि प्रशिक्षणले धेरै आत्मविश्वास बढेको बताउनुभयो ।

सहभागीमध्येका निशान विश्वकर्माले सुरुआतदेखि आजको प्रशिक्षणसम्म आइपुग्दा आत्मविश्वासमा धेरै वृद्धि भएको बताउनुभयो । अर्का सहभागी शुभम पोखरेलले उत्साहित हुँदै यो प्रतियोगितालाई राष्ट्रिय स्तरको बनाइनुपर्ने धारणा व्यक्त गर्नुभयो । अधिकांश सहभागीहरूले पहिलो र दोस्रो अडिसन पार गर्दै यहाँसम्म आइपुग्दा आत्मविश्वास झन् झन् बढ्दै गएको प्रतिक्रिया दिएका छन् ।

प्रतियोगीताको सेमिफाइनल निकट भविष्यमै आयोजना हुने भएकाले प्रतिस्पर्धीहरुलाई तयारी अवस्थामा रहन अध्यक्ष कार्कीले आग्रह गर्नुभएको छ । 

............