धरान, असोज २३ । ताप्लेजुङ् जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाले स्वास्थ्य र शिक्षा सेवा निःशुल्क प्रदान गरिरहेको जनाएको छ ।
फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बु (मुक्ति) ले धरानमा विहीबार पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा जानकारी गराउनुभएको हो । गाउँपालिकाका ७ वटै वडामा स्वास्थ्य र शिक्षा सेवा निःशुल्क गरिएको उहाँले बताउनुभयो । रिफर लिएर बाहिर जानुपर्ने गाउँपालिकाका विरामीका लागि एम्बुलेन्स, अक्सिजन र औषधि समेत निःशुल्क गरिएको उहाँले जानकारी दिनुभयो ।
अशक्त र जेष्ठ नागरिकहरुलाई गाउँपालिका मै दक्ष चिकित्सक झिकाएर स्वास्थ्य सेवा दिइएको समेत उहाँको भनाइ थियो । गाउँपालिकामा गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाइ १२ सम्म अध्ययन समेत निःशुल्क गरिएको छ ।
आगामी महिनादेखि गाउँपालिका भित्रका ६० बर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिकहरुलाई प्रतिव्यक्ति प्रतिमहिना एकहजार रुपैयाका दरले सामाजिक सुरक्षा भत्ता दिने आफ्नो योजना रहेको उहाँले बताउनुभयो । फक्ताङलुङ गाउँपालिकालाई नेपालकै नमुना गाउँपालिका बनाउने लक्ष्य अनुरुप यी कार्यक्रमहरु अगाडी सारिएको उहाँको भनाइ थियो ।
.................




















