धरान, कार्तिक २२ । सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगीताको प्रथम संस्करण यही मंसिर ७ देखि १७ सम्म धरानमा सम्पन्न हुने भएको छ ।
धरान १२, चतरालाइनस्थित सुनाखरी एकेडेमीले सो प्रतियोगीता सन्चालन गर्ने भएको हो । शनिबार धरानमा आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका प्रिन्सिपल मिलन राईले सुनसरी जिल्ला स्तरिय अन्तर विद्यालय पुरुष फुटबल प्रतियोगीता आयोजना गर्न लागिएको बताउनुभयो ।
‘विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि शिक्षासँगै खेलकुद’ भन्ने मुल नाराका साथ आयोजना गरिने उक्त प्रतियोगीताको उद्धेश्य विद्यालयहरुविच आत्मिय सम्बन्ध कायम गर्दै फुटबललाई विद्यालयस्तरबाटै प्रवद्र्धन गर्ने र भविष्यमा राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न टेवा दिने रहेको उहाँले जानकारी दिनुभयो ।
प्रतियोगीतामा कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागीता रहनेछ । प्रतियोगीतामा एन्फा एकेडेमी धरान र जिल्ला फुटबल संघ सुनसरीको प्राविधिक सहयोग रहनेछ । प्याब्सन र एन प्याब्सन धरानको संयोजन रहने उक्त प्रतियोगीतामा जिल्लाभरिका १६ वटा विद्यालयहरुको सहभागीता रहनेछ । प्रथम आगमन प्रथम सेवाको आधारमा सहभागी छनौट गरिनेछ । प्रतियोगीता धरान १७ स्थित एन्फा एकेडेमी खेलमैदानमा सम्पन्न हुनेछ ।
कुल अनुमानित लागत ६ लाख १० हजार रहेको उक्त प्रतियोगीतामा उपाधी विजेतालाई ५० हजार रुपैया र उपविजेतालाई २५ हजार रुपैया नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
.....




















