धरान, कार्तिक २२ । नेपाल आदिवासी जनजाति महासङ्घ (निडा) ले कोशी प्रदेशका अपाङ्गता भएका आदिवासी जनजातिहरुका लागि सशक्तिकरण र वकालत क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।
धरानमा सम्पन्न दुई दिने कार्यक्रममा शुक्रबार निडा कोशी प्रदेश समिति गठन सम्बन्धि छलफल गरिएको थियो भने शनिबार वकालत सम्बन्धि तालिम सम्पन्न भयो । एबिलिस फाउन्डेशन नामक संस्थाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा निडा प्रदेश उपाध्यक्ष तथा संविधान सभा सदस्य इन्द्रकुमारी गुरुङले नेपालका अपाङ्गता भएका आदिवासी जनजातिहरुको स्वेतपत्र बारे जानकारी दिँदै निडाको उद्धेश्य र गतिविधिबारे जानकारी गराउनुभएको थियो । निडाका सल्लाहकार तथा अधिवक्ता दिलप्रसाद मगरले अपाङ्गता भएका आदिवासी जनजातिहरु आफ्नो अधिकारका लागि सचेत र सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले अपाङ्गता भएका आदिवासी जनजातिहरुले संविधानले सुनिश्चित गरेका हक अधिकारहरुको प्राप्तीका लागि निरन्तर आवाज उठाइरहनुपर्ने विचार व्यक्त गर्नुभयो ।
...............




















