धरान, माघ १२ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को सुनसरी निर्वाचन क्षेत्र नं. १ का लागि निर्वाचन परिचालन कार्यालय धरानमा उद्घाटन गरिएको छ ।
सोमबार कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा पार्टीका प्रदेश सह–इन्चार्ज राजेन्द्रकुमार राईले धरान–३ स्थित सदनरोडमा कार्यालयको उद्घाटन गर्नुभएको हो ।
कार्यालय उद्घाटन गर्दे राईले केन्द्रसँग सम्पर्क भएका धरानका विकास योजनाहरु अगाडि बढाइने बताउनुभयो । उहाँले धरानको खानेपानी समस्या समाधान, सडक पूर्वाधारको विकास, सुकुम्बासीको व्यवस्थापन लगायत कार्यहरु प्रभावकारी रुपमा सम्पन्न गर्न सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका लागि सुर्यबहादुर भट्टराई (मनोज) लाई उम्मेदवार बनाइएको बताउनुभयो । विगतका उम्मेदवारहरूले गरेका तर पुरा नभएका प्रतिवद्धताहरु पूरा गर्ने जिम्मेवारी पनि पार्टी र उम्मेदवार भट्टराईको काँधमा रहेको उहाँको भनाइ थियो ।
सुनसरी क्षेत्र नं. १ का लागि सुर्यबहादुर भट्टराई (मनोज) एकमात्र सशक्त, अनुभवी साथै इनर्जेटिक युवा उम्मेदवार रहनुभएको भन्दै उहाँले यस क्षेत्रका जनताले मनोज भट्टराईलाई जिताएमा मात्र आफ्नो मतको सदुपयोग हुने दावी गर्नुभयो ।
पार्टी केन्द्रिय सदस्य तथा सुनसरी क्षेत्र नं. १ निर्वाचन परिचालन समिति संयोजक किरण राईले यस क्षेत्रका लागि मनोज भट्टराई राजनैतिक परिपक्वता, क्रियाशिलता, दुरदर्शिता, कार्यक्षमता लगायत सबै दृष्टिले परिपक्व र अब्बल उम्मेदवार रहेको बताउनुभयो । यसअघि धरान उपमहानगरपालिकाको प्रवक्ता र वडा नं. १७ को अध्यक्ष भई एक सफल जनप्रतिनिधिको रुपमा कार्य गरिसक्नुभएका अनुभवी व्यक्तित्व भएको र जनताको विश्वास गरिसकेकोले भएपनि मनोज भट्टराई जित सुनिश्चित रहेको उहाँको दावी थियो ।
सुनसरी क्षेत्र नं. १ का नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार मनोज भट्टराई (सुर्यबहादुर भट्टराई)ले फेसबुकमा पोष्ट गरेर जनतालाई काम गरेजस्तो देखाउनका लागि नभई कामै गर्नका लागि आफु उम्मेदवार भएको बताउनुभयो । आफु प्रचारप्रसार, भाषण र बोलिमा नभई नतिजामुलक काममा विश्वास गर्ने भएको बताउँदै उहाँले यस क्षेत्रका जनताले आफु जनप्रतिनिधि हुँदा नै आफ्नो काम देखिसकेकोले आफ्नो जीतमा ढुक्क रहेको बताउनुभयो ।
यस क्षेत्रमा आफ्नो उम्मेदवारीको औचित्य र योजनाका बारे मतदाताहरुलाई विभिन्न माध्यममार्फत जानकारी गराउँदै आएको र थप कुराहरु चाँडै नै घोषणापत्र मार्फत सार्वजनिक गर्ने पनि उहाँले बताउनुभयो ।
..............




















