धरान, माघ २४ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निर्वाचन परिचालन समिति सुनसरी क्षेत्र नं.१ ले विभिन्न क्षेत्रका विषयगत विज्ञहरूसँग सुझाव सङ्कलन गरेको छ ।
शनिबार धरानस्थित सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित एक कार्यक्रममा शिक्षा, स्वास्थ्य, पर्यटन, सञ्चार, सुकुम्बासी समस्या, भाषा–साहित्य, पूर्वाधारलगायत क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले आफ्नो महत्वपूर्ण सुझाव दिएका थिए । सो अवसरमा विज्ञहरुले भट्टराईलाई जीतको अग्रिम शुभकामना पनि दिएका थिए ।
कार्यक्रम संयोजक एवं संविधानसभा सदस्य किरण राईले स्थानीय आवश्यकता र प्रतिबद्धतालाई समेटेर स्थानिय प्रतिबद्धता पत्र तयार गरिने जानकारी दिनुभयो । उहाँले विभिन्न क्षेत्रका विज्ञहरुबाट प्राप्त सुझावहरूलाई लिपिबद्ध गरी स्थानीय प्रतिबद्धता पत्रमा उल्लेख गरिने बताउनुभयो ।
कार्यक्रममा शिक्षा व्यवसायी तथा बुद्धिजीवी सुरेन्द्र घिमिरेले विजयपुरका दन्तकाली, बुढासुब्बा, पिण्डेश्वरजस्ता धार्मिक स्थल र भताभुङ्गे दरबारजस्ता ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै पर्यटन विकास गर्नुपर्ने सुझाव दिनुभयो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पिण्डेश्वर क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस र केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा सुनसरी–१ का स्थानीय विद्यार्थीका लागि अनिवार्य कोटा व्यवस्था गर्न पहल गर्नुपर्ने धारणा राख्नुभयो । धरानमा बोटानिकल गार्डेन र आईटी पार्क स्थापना गरी शैक्षिक पर्यटन विकास गर्न सकिने उहाँको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान सुनिश्चित गर्दै धरानमा सञ्चार ग्राम स्थापना गर्ने प्रतिबद्धता पत्रमा समेट्न सुझाव दिनुभयो । पर्यटनकर्मी बासु बरालले धरान, रामधुनी र बराहक्षेत्रका धार्मिक तथा पर्यटकीय स्थललाई व्यावसायिक रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै पर्यटन व्यवसायमा राज्यको प्रत्यक्ष लगानी आवश्यक रहेको बताउनुभयो ।
नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले सुकुम्बासी समस्या समाधानका लागि अहिलेसम्म १९ वटा आयोग गठन भए पनि समस्या यथावत रहेको उल्लेख गर्दै अब आयोग होइन, फास्ट ट्रयाकमार्फत नीति बनाएर लालपुर्जा वितरण गर्नुपर्ने बताउनुभयो ।
प्राध्यापक डा. गोपाल भण्डारीले नेपाली भाषा र साहित्यको संरक्षण तथा सम्बद्र्धनलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठले धरानलाई चलायमान बनाउन लेउति–धरान सुरुङ मार्गलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बा, लेखक तथा वाम बुद्धिजीवी राजेन्द्र किराती, व्यवसायी विनोद कोइराला, साहित्यकार तथा पूर्व जनप्रतिनिधि बम देवानलगायतले आफ्नो क्षेत्रगत सुझाव प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेकपाका नेता मानभगत चाम्लिङ, मुक्सामहाङ मेन्याङ्बो (मुकेस), नेकपाबाट सुनसरी–१ का उम्मेदवार सूर्यबहादुर (मनोज) भट्टराई, राम राई, भुपाल चाम्लिङ राईलगायतको उपस्थिति रहेको थियो ।




















