धरान, फागुन ४ गते । धरानस्थित इमानुयल इङलिस बोर्डिङ स्कुलले ‘रियल मि स्टुडेन्ट अफ द इयर–२०८२’ की विजेता सामना खनाललाई सोमबार एक विशेष कार्यक्रमबीच सम्मान गरेको छ ।

इमानुयल बोर्डिङमा कक्षा १० मा अध्ययनरत खनालले गत माघ २७ गते राजधानी काठमाडौंमा सम्पन्न फाइनल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधिसहित नगद ५ लाख रुपैयाँ जितेकी थिइन् । उक्त उपलब्धिपछि विद्यालयले उनलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरेको हो ।

विद्यालयका प्रिन्सिपल प्रभास राजवंशीले विद्यार्थी खनालले इमानुयल स्कुल मात्र नभई समग्र धरानको नाम उच्च राख्न सफल भएको बताउनुभयो । उहाँले सामनाको मेहनत, अनुशासन र आत्मविश्वास सबै विद्यार्थीका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो ।

कार्यक्रममा सामनाका आमा रचना खनाल तथा बुवा साजन खनाललाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । छोरीको सफलतामा निरन्तर साथ र हौसला प्रदान गरेको भन्दै उहाँहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

...............