विराटनगर । विराटनगर महानगरपालिकाले पुस १५ सम्ममा लक्ष्यको ३५ प्रसितसत मात्रै आय गरेको छ । विराटनगर महानगरको आज सम्पन्न पन्ध्रौँ नगर सभामा उप मेयर शिल्पा कार्कीले अहिले सम्म ३५ प्रतिशत मात्रै आय भएको बताइन् । उपमेयर कार्कीले चालु आर्थिक वर्षको पुस १५ गतेसम्म १ अर्ब २२ करोड ४८ लाख ३ हजार रुपैयाँ आय भएको बताइन् । यो कुल लक्ष्यको  ३५ प्रतिशत मात्रै यथार्थ आय हो । चालु आर्थिक वर्षका लागि महानगरले ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार आय अनुमान गरेको थियो ।

त्यस्तै ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार कुल व्यय अनुमान गरिएकोमा पुस १५ गतेसम्म ६९ करोड ५४ लाख ३८ हजार रुपैयाँ अर्थात् १९ दशमलव ८७ प्रतिशत मात्रै खर्च भएको छ । उक्त खर्चमध्ये १४ करोड ४० लाख ६३ हजार पुँजीगत र ५५ करोड १३ लाख ७५ हजार रुपैयाँ प्रशासनिक एवं चालुतर्फ खर्च भएको उपमेयर कार्कीले प्रस्तुत गरेको संशोधित आयव्ययमा उल्लेख छ । 

त्यसै गरी १ अर्ब १० करोड ७९ लाख १० हजार रुपैयाँ आन्तरिक आय अनुमान गरिएकोमा चालु आर्थिक वर्षको साउनदेखि पुस १५ गतेसम्म २३ करोड ३५ लाख ९७ हजार रुपैयाँ अर्थात् २१ दशमलव ०८ प्रतिशत मात्रै सङ्कलन भएको छ ।

 त्यस्तै राजस्व बाँडफाँडबाट प्राप्त राजस्वतर्फ प्रदेश सरकार सवारी साधन कर, घरजग्गा रजिस्ट्रेसन दस्तुर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क गरी कुल ८३ करोड ५४ लाख ७४ हजार अनुमान गरिएकोमा १६ करोड ३४ लाख ७६ हजार रुपैयाँ अर्थात् १९ दशमलव ५६ प्रतिशत मात्रै रकम प्राप्त भएको उपमेयर कार्कीले पन्धौं नगर सभामा संशोधित बजेट तथा कार्यक्रममा उल्लेख छ । 

अन्तर सरकारी वित्तीय हस्तान्तरण सङ्घीय सरकारतर्फ १ अर्ब २२ करोड १० लाख ७५ हजार अनुमान गरिएकोमा ६७ करोड ९२  लाख ७२ हजार रुपैयाँ अर्थात् ५५ दशमलव ६२ प्रतिशत अनुदान प्राप्त भएको छ । प्रदेश सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ २ करोड ५७ लाख १६ हजार प्राप्त भएको छ । प्रदेश सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ ८ करोड ३९ लाख ७२ हजार प्राप्त हुने अनुमान गरिएको छ । 

अधिवेशनलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले सीमित स्रोत र साधनबाट विराटनगरवासीको असीमित आवश्यकता परिपूर्ति गर्नु निकै चुनौती देखिएको बताए  ।