धरान, माघ ११ । प्रेस सेन्टर नेपाल १ नम्बर प्रदेश समितिको अध्यक्षमा राजन समीप राई निर्वाचित हुनुभएको छ । शुक्रबार विराटनगरमा सम्पन्न अधिवेशनमा राई अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि भएको मतदानमा राईले अर्का प्रत्यासी नवराज कट्टेललाई पराजित गर्नुभएको थियो ।
राईले ४१ मत प्राप्त गर्दा कट्टेलले ३६ मत प्राप्त गर्नुभएको थियो । प्रेस सेन्टर नेपालको इतिहासमा कुनैपनि पदमा निर्वाचन भएको यो पहिलो पटक हो ।
यसअघि अध्यक्ष लगायत सबै पदका लागि सर्वसम्मतिको पहल भएको थियो । अन्य सबै पदहरुमा सर्वसम्मत भएपनि अध्यक्ष पदका दुवै आकाँक्षीहरुले दावी नछाडेपछि मतदान भएको थियो । गणेश लम्साल नेतृत्वको निर्वाचन समितिले मतदान प्रक्रिया अघि बढाएको थियो ।
समितिको खुल्ला उपाध्यक्षमा सुजन तिम्सिना, महिला उपाध्यक्षमा सुजता लिम्बु, समावेशी उपाध्यक्षमा सेसेहाङ लावती, महासचिवमा गोकुल अधिकारी, खुल्ला सचिवमा इश्वर थापा, जनजाति सचिवमा डिकेश लामा, मधेशी सचिवमा सत्यनारायण शर्मा, महिला सचिवमा विनु तिम्सिना र दलित सचिवमा राकेश नेपाली चयन हुनुभएको छ । समितिको कोषाध्यक्षमा झुलन रेग्मीलाई चयन गरिएको छ ।
संगठनको नेतृत्व हालसम्म विराटनगर केन्द्रित भएकोले यसपटक नेतृत्व राजधानी बाहिरलाई दिएर संगठनलाई विकेन्द्रित गर्दै जानुपर्ने बन्दसत्रमा आवाज उठेको थियो । पुनः विराटनगरकै नेतृत्व हुने गरी उम्मेदवारी दिएका नवराज कट्टेलले दावी नछोडेपछि निर्वाचन समिति अध्यक्ष पदमा मतदानको निर्णयमा पुगेको थियो । बन्दसत्रका अधिकाँश प्रतिनिधिहरुको आवाज अनुसार नै अध्यक्षमा भोजपुरका राजन समीप राई निर्वाचित हुनुभयो । तत्कालिन मन्त्री सुदन किरातीको प्रेस संयोजक रहीसक्नुभएका राई अबको बाटो डटकमका सम्पादक हुनुहुन्छ ।
निर्वाचित भएपछि प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष राईले प्रदेश नं. १ मा प्रेस सेन्टर नेपालका अग्रज र दुरदराजको भूगोलका क्रियाशिल पत्रकारहरुलाई समेट्दै श्रमजीवी क्रान्तिकारी पत्रकारहरुको एक नमुना संगठनको रुपमा स्थापित गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।
..................




















