धरान, माघ २४ । धरानमा जारी २५ औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगीतामा शुक्रबार (माघ २५) देखि सवारी पार्किङ नलाग्ने भएको छ ।
प्रतियोगीताको उद्घाटनकै दिनदेखि यसअघि झैँ दर्शकहरुलाई सवारी पार्किङ शुल्क लिइदै आएको थियो । विहीबार आयोजक संस्था धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले एक विज्ञप्ति प्रकाशित गरी पार्किङ शुल्क हटाइएको स्पष्ट पार्नुभएको हो ।
पार्किङ शुल्क हटाइनुको कारण सामाजिक सञ्जालमा प्रश्न उठ्नु भनि विज्ञप्तिमा स्पष्ट पारिएको छ । बुधबार मात्र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो फेसबुक पेज हर्क साम्पाङ ए रिभोलुशनमा यस सम्बन्धि पोष्ट गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो– ‘बुढासुब्बा गोल्डकप हेर्न आउनेलाई पार्किङ शुल्क लिएको पाइयो ! यो अवैध हो ! भोलि बुझेर कारवाही हुनेछ ! कसैले पनि पार्किङ शुल्क नतिर्नु होला ! जय धरान !’
पोष्ट पछि यसको समर्थन र विरोधमा विभिन्न कमेन्ट आएका थिए । यसलाई आधार बनाएर अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि विभिन्न आशयका पोष्ट गरिरहेकाछन् । अध्यक्ष तामाङको विज्ञप्तिमा मेयरको पोष्टलाई नै नतोकिएपनि यसैको प्रभाव स्वरुप पार्किङ शुल्क हटाइएको मानिएको छ ।
खेलसँग सम्बन्धित तथा सामाजिक संस्थाहरुलाई टेवा पुगोस् भनेर यसअघि देखि पार्किङ शुल्क लिइदै आएको भएपनि सामाजिक सञ्जालमा प्रश्न उठेकाले हटाइएको विज्ञप्तिमा जनाइएको छ । दर्शकहरुको सवारी साधनहरुको संस्थागत सुरक्षा पनि पार्किङ शुल्कको उद्धेश्य भएको तर यसबाट आयोजक धरान फुटबल क्लवले कुनै लाभ नलिएको समेत विज्ञप्तिमा स्पष्ट पारिएको छ । पार्किङ शुल्क नलिने भएपछि दर्शकहरुको सवारी साधनहरु हराएको वा टुटफुट भएको अवस्था भए सो को जिम्मेवारी आयोजकको नहुने समेत विज्ञप्तिमा अध्यक्ष तामाङले स्पष्ट पार्नुभएको छ ।
प्रत्येक वर्ष विभिन्न खेलसँग सम्बन्धित वा सामाजिक संस्थाहरुलाई पार्किङ शुल्क संकलनको जिम्मा दिने गरिएकोमा यसपटक धरान १९ स्थित युवा जागृति फुटबल क्लवलाई दिइएको थियो ।
नेपाली फुटबल खेल क्षेत्रकै एक महान उत्सव मानिएको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण शनिबार उद्घाटन गरिएको हो ।
........




















