धरान, माघ २५ । धरानमा १५ दिने विजिनेश एक्स्पो हुने भएको छ ।
शनिबार धरान रंगशालामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एक्स्पोको शुभारम्भ गर्ने कार्यक्रम छ । नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानले आयोजना गर्ने एक्स्पो फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।
धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्दै व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्ने उद्धेश्यले एक्स्पो आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष शिवराज श्रेष्ठले बताउनुभयो ।
बिहान ११ बजेबाट प्रारम्भ हुने एक्स्पोमा सर्वसाधारणलाई निशुल्क प्रवेश दिइने विजिनेश एक्स्पो धरान २०८१ मूल समितिका संयोजक राजेश अग्रवालले बताउनुभयो । साँझ हुने साँस्कृतिक कार्याक्रममा भने कलाकारको उपस्थिति अनुसार न्युनतम शुल्क तोकिएको र अन्य कुनैपनि शूल्क नलिइने उहाँले बताउनुभयो । ‘मुख्य कुरा धरानको सुस्त बजारलाई चलायमान बनाउने हाम्रो प्रयास हो ।’ उहाँले भन्नुभयो ।
एक्स्पोमा सर्वसाधारण र व्यवसायीहरुको इच्छा र अवस्थालाई मध्यनजर गर्दै सस्तो जुत्ता मेला, आदिवासी जनजाती परिकारहरुको प्रवद्र्धन, स्थानीय उद्योगी व्यवसायीहरुका उत्पादन, गार्मेन्टका उत्पादन लगायतका सय भन्दा बढि स्टलहरु राखिने अग्रवालले बताउनुभयो ।
एक्स्पोमा सरल तथा सुपथ मुल्यमा सामान तथा सेवाहरु उपलब्ध हुने मुल समितिका सहसंयोजक टंककुमारी गुरुङले बताउनुभयो । स्थानिय तथा राष्ट्रिय प्रतिभाहरुलाई मञ्च प्रदान गर्न पनि एक्स्पोले योगदान गर्ने उहाँले जानकारी दिनुभयो ।
१५ दिने एक्स्पोमा राजेशपायल राई, सुगम पोख्रेल, मिलन नेवार, तृष्णा गुरुङ लगायतका राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । लोकबाजाहरुको अर्केष्ट्रा, ब्रिटिश गोर्खा व्रिगेड ब्याण्डको प्रस्तुती र स्थानीय डान्स सेन्टरहरुको प्रस्तुति रहनेछ । आगन्तुकहरुको मनोरन्जनका लागि खेलतामासा, रोटेपिङ, नाउँ तथा बालबालिकाहरुका लागि समेत मनोरन्जनात्मक सामाग्रीहरु राखिएको सहसंयोजक गुरुङले बताउनुभयो ।
एक्पो अवधिमा समय व्यवस्थापन गर्दै धरानको शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग र सञ्चार क्षेत्रको विकास र सम्भावनाका बारेमा अन्तरक्रिया समेत गरिने महासंघका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो ।
स्टलहरुको बुकिङ अन्तिम चरणमा पुगेको र कार्यक्रमका लागि सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाले जानकारी दिएको छ ।
..............




















