विराटनगर, फागुन ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र जनताको गणतन्त्र बनाउने या बुर्जुवाको भन्ने सङ्घर्ष सुरु भएको बताउनुभएको छ ।

पार्टीको १ नम्बर प्रदेश समितिको प्रथम प्रदेश परिषद बैठकलाई शनिबार विराटनगरमा सम्बोधन गर्दै उहाँले जनयुद्धको उत्कर्षको रुपमा २०६२ सालमा भएको चुनवाङ बैठकमा पार्टीले गरेको विश्लेषण अनुसार नै अहिले सङ्घर्ष सुरु भएको बताउनुभयो । 

Prachanda Brt1उतिबेला ‘अब नेपाल गणतन्त्रमा जान्छ तर बुर्जुवाहरुले आफूले चाहेजस्तो बनाउन प्रयास गर्नेछन् र हामी जनताको गणतन्त्र बनाउन प्रयास गर्नेछौं’ भन्ने विश्लेषण दस्तावेजमै आँकलन गरिएको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अहिले मुलुक त्यही ठाउँमा आइपुगेको बताउनुभयो ।

काग्रेस र एमाले यतिबेला भ्रष्ट, दलाल र विचौलियाले चाहेजस्तो गणतन्त्रलाई आफू अनुकूल अघि बढाउन खोजेको, विभिन्न उत्पीडित समुदायले पाएको संविधानबाट अधिकार कटौती गर्न खोजिरहेको उल्लेख गर्दै उहाँले माओवादीले त्यसविरुद्ध सङ्घर्ष गरिरहेको बताउनुभयो । विगतमा संविधान बनाउनैपर्ने बाध्यताले प्रत्यक्ष कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता जनपक्षीय एजेण्डामा सम्झौता गर्न पुगेको उल्लेख गर्दै उहाँले अब पार्टीले यी एजेण्डालाई पुनः अघि बढाउने सङ्कल्प लिएको बताउनुभयो ।

दलाल, भ्रष्ट र विचौलियाको घेराबन्दी तोडेर अब सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डामा देशलाई गोलबन्द गर्दै उत्पीडित समुदाय र क्षेत्रले पाएका अधिकारलाई पूर्णता दिने र स्थानीय तहबाटै आत्मनिर्भर अर्थतन्त्रको जग बनाएर समाजवादको अभ्यास गर्ने पार्टी नीति रहेकाले यसमा सबै एकताबद्ध भएर अघि बढ्न अध्यक्ष प्रचण्डले निर्देशन दिनुभयो । बुर्जुवाहरुको सङ्गतका कारण आफ्नो पार्टीमा पनि केही कमीकमजोरी देखिएकाले त्यसलाई सच्याएर फेरि आफ्नै वर्ग र समुदायप्रति फर्कने पछिल्लो केन्द्रीय समिति बैठकले सङ्कल्प लिएको उल्लेख गर्दै उहाँले यही सङ्कल्पका आधारमा देशव्यापी जनतामा अपिल गर्दै पार्टी पुनर्निर्माण र रुपान्तरणको अभियान अघि बढाइने बताउनुभयो ।

Prachanda Brt2फागुन १२ गतेदेखि सुरु हुने हुलाकी मार्गकेन्द्रित तराई मधेश जागरण अभियान र वैशाखमा सञ्चालन हुने मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्वपश्चिम जागरण अभियानले पूरै देशलाई आफ्नो एजेण्डामा गोलबन्द गर्ने उल्लेख गर्दै उहाँले सबै नेताहरुलाई अभियानमा केन्द्रित हुन निर्देशन दिनुभयो । आफुले सरकारको नेतृत्व गर्दा ‘गल्ती नगर्ने र गल्ती गर्नेलाई नछाड्ने’ उद्घोषका साथ सुशासनको अभियानमा होमिएपछि जनतामा आशा पलाएको र सरकारबाट हटेपछि त्यही अभियानलाई देशव्यापी बनाएको उहाँले बताउनुभयो । यसबाट जनतामा नयाँ आशा पलाएको र दैनिक बढिरहेको माओवादीप्रतिको आकर्षणलाई सङ्गठनमा रुपान्तरण गरेर बलियो पार्टी निर्माणको अवसर प्राप्त भएको उल्लेख गर्दै उहाँले यसरी नै अघि बढ्ने हो भने २०८४ को निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले अब पार्टी रुपान्तरणको अभियान पूर्वी नेपालबाट सुरु गरेकाले १ नम्बर प्रदेश समितिको बढी जिम्मेवारी र भूमिका आएको बताउनुभयो ।

.............