धरान, फागुन ४ । मुक्कुमलुङमा केबलकार बनाउनुपर्छ भन्ने पक्षका एक व्यक्तिलाई ‘नो केबलकार समुह’ का अभियन्ताहरुले आइतबार धरानमा कालोमोसो दलेकाछन् । ताप्लेजुङ निवासी पदम चेन्जी माबोलाई कालोमोसो सहित कुटपिट समेत गरिएको थियो । 

धरानमा एक कार्यक्रममा सहभागी भइरहेको अवस्थामा नो केबलकार समुहका अभियन्ताहरुले उनीमाथि आक्रमण गरेका थिए । कार्यक्रम जारी रहेकै बेलामा उनीहरु कार्यक्रम स्थलमा प्रवेश गरी ‘पदमलाई भेट्न आएको कुरा गर्नु छ’ भनेका थिए । कार्यक्रम जारी रहेको र सकिएपछि कुरा गर्न आयोजकको अनुरोध पछि अभियन्ताहरुले केहीबेर पर्खेका थिए । कार्यक्रम स्थलको एकछेउमा पर्खेर बसेका अभियन्ताहरु कार्यक्रम समापन भएपछि माबोमाथि जाइलागेका थिए । 

आक्रमणका क्रममा उनीहरुले ‘आफ्नो लिम्बु दाजुभाइहरु गोलि खाँदै गर्दा यो मान्छेले केबलकार बनाउनुपर्छ भन्दै अभियान चलाएको’ भन्दै आक्रोश पोखेका थिए । समुहका एक अभियन्ताले पदम माबोले केबलकारको पक्षमा विभिन्न मिडियामा अन्तरवार्ता र फेसबुक पोष्टहरु समेत गर्दै आएको र आफ्नो समुदायकै विरुद्धमा लागेकोले यो अवस्था आएको बताए । 

..........