इटहरी, फागुन १६ । बान्तावा भाषीहरुको साझा सामाजिक संस्था किरात राई बान्तावा खिमको शुक्रबार इटहरीमा सम्पन्न तेस्रो केन्द्रिय अधिवेशनले ज्ञान किरातीलाई आगामी तीन वर्षका लागि अध्यक्ष निर्वाचित गरेको छ ।
किराती अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । संस्थाको वरिष्ठ उपाध्यक्षमा जितुमान राई, महासचिवमा रिता राराहाङ राई, कोषाध्यक्षमा सिर्जनशरण राई निर्वाचित हुनुभएको छ । सदस्यहरु भक्त राई, डा.इश्वर राई, सुशील राई, रमेशकुमार राई, नारायणप्रसाद राई, मणिराज राई, ओमप्रकाश राई, राजकुमार विराहाङ राई, विमसा राई रहनुभएको १४ सदस्यिय केन्द्रिय समिति निर्वाचत भएको छ । विधान अनुसारको बाँकी पदाधिकारी र सदस्यहरु आगामी बैठकले मनोनित गर्नेछ ।
संस्थाका सल्लाहकार कमला राई संयोजकत्वको अध्यक्ष मण्डलले निर्वाचित कार्यसमितिको घोषणा र सपथ ग्रहण गराएको थियो । संस्थाले करिब १२ करोड लागतमा वृहत गुरुयोजना सहित इटहरी–१०, बरगाछीटोलमा केन्द्रिय कार्यालय भवन निर्माण गरिरहेको छ । निर्माणाधिन भवनको निर्माण सम्पन्न गरी उद्धेश्य अनुरुप सन्चालन ल्याउनु नवनिर्वाचित कार्यसमितिको पहिलो कार्यभार रहेको नवनिर्वाचित अध्यक्ष किरातीले बताउनुभयो ।
यसअघि अधिवेशनको पुर्वमन्त्री तथा संघीय सदस्य सुदन किरातीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन गर्दै माननीय किरातीले अस्तित्व र पहिचानको स्थापनाका लागि किरात राई बान्तावा खिमले गरिरहेको प्रयासको प्रशंसा गर्नुभयो ।
अधिवेशनमा भुटान, भारत, हङकङ सहित विदेश र नेपालका प्रतिनिधि पर्यवेक्षकहरुको सहभागतिा रहेको थियो ।
अधिवेशनका अवसरमा संस्था माताहत स्थापित प्रसाद राई स्मृति साहित्य पुरस्कार २०८१ नेपाली र बान्तावा भाषा साहित्य लेखनमा योगदान दिएवापत साहित्यकार भीम विरही राईलाई प्रदान गरिएको थियो । नगद बीस हजार पाँच सय राशीको उक्त पुरस्कार प्रमुख अतिथि पुर्वमन्त्री किराती र अक्षयकोषदाता पुर्णिमा राईले हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ गायक शम्भु राई, सुखदेव राई, लीला राई, हिरन राई, उर्मिला राई लगायतले गीत प्रस्तुत गर्नुभएको थियो ।
........




















