धरान, फागुन २३ । धरानस्थित सत्यशिशु निकेतन बोर्डिङ स्कुलले शुक्रबार ४७ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले गीत, नृत्य लगायत प्रस्तुति दिएका थिए । विद्यालयमा अध्यापनरत शिक्षिकाहरुले पनि आकर्षक नृत्य प्रस्तुत गरेका थिए । 

विद्यार्थीहरुले कराते र तेक्वान्दो खेल कौशल समेत प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यालयको विभिन्न कक्षाबाट वार्षिक परिक्षामा उत्कृष्ट स्थान हासिल गर्न सफल मेधावी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा अब्बल स्थान हासिल गर्ने विद्यार्थीहरुलाई समेत पुरस्कार र मेडल प्रदान गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष नरेश इवारमले विद्यालयको लामो इतिहासको चर्चा गर्दै धरानको शिक्षाक्षेत्रमा विद्यालयको योगदानको प्रशंसा गर्नुभयो । विद्यालयका प्रिन्सिपल रमेश राईले उपस्थित महानुभावहरुलाई स्वागत गर्दै विद्यालयको परिचयात्मक मन्तव्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका निर्देशक ताराबहादुर सेन्चुरी, अभिभावक प्रतिनिधि इन्द्र बजगाई लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सन्चालन पत्रकार तथा अतिरिक्त क्रियाकलाप प्रशिक्षक तीर्थ कार्कीले गर्नुभएको थियो । 

वि.सं. २०३४ सालमा स्थापना भएको सत्यशिशु निकेतन धरानको पुरानो निजि विद्यालय मध्ये एक हो ।

............