धरान, चैत्र ३ । पब्लिक हाइस्कुल धरानको ७८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको पहिलो दिन सोमबार (आज) रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय परिसरमा सम्पन्न रक्तदानमा जम्मा ७८ पिन्ट रगत सङ्कलन भएको रक्तदान कार्यक्रम संयोजक विद्यालयका एकेडेमिक इन्चार्ज बीरेन्द्रबहादुर शाहले जानकारी दिनुभयो ।
‘रक्तदान जीवनदान, जीवनदान महाकल्याण’ भन्ने उद्घोष सहित सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य महानुभावहरुले रक्तदान गर्नुभएको थियो ।
वार्षिकोत्सवको अन्तिम दिन चैत्र ६ गते बुधबार आयोजना हुने मुख्य कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम छ । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको समेत उपस्थिती रहने उहाँले जानकारी दिनुभयो । सो अवसरमा प्रधामन्त्रीले विद्यालयको नवनिर्मित विज्ञान ब्लक र होटल म्यानेजमेन्ट प्रयोगशालाको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको विद्यालयका प्रधानाध्यापक डा.इन्द्रमोहन झाले जानकारी दिनुभयो ।
विद्यालयले तीन दिवसिय वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने तयारी गरे अनुरुप आज पहिलो दिन हो । कार्यक्रमको दोस्रो दिन मंगलबार (भोलि) विहान ५ः३० बजेदेखि मिनि म्याराथुन आयोजना गरिनेछ । मिनि म्याराथुनमा अभिभावकहरुलाई पनि सहभागी गराइने साइन्स तथा इलेक्ट्रिकल इन्चार्ज मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
वार्षिकोत्सवका अवसरमा विद्यालयका होटल म्यानेजमेन्ट फ्याकल्टीका विद्यार्थी र शिक्षकहरुको प्रयासमा फुड स्टल राखिनेछ । ब्युटिशियन फ्याकल्टीका विद्यार्थी तथा शिक्षकहरुको प्रयासमा ब्युटि तथा सेल्फ केयर पनि राखिनेछ । गीत तथा नृत्य, अभिभावकहरुका लागि लक्की ड्र, म्युजिकल चेयर लगायतका प्रतियोगीता तथा कार्यक्रमहरु पनि आयोजना गरिनेछन् ।
..........




















