धरान, बैशाख ११ गते । सुनसरीको इटहरिबाट प्रकाशन हुँदै आएको दैनिक पत्रिका पुर्वीहटलाइनले विहीबार १२ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । 

इटहरिस्थित रिजाल्स भिजन पार्टी प्यालेसमा वार्षिकोत्सव समारोह आयोजना गरिएको थियो । कार्यक्रममा इटहरि कर्मथलो बनाएर पत्रकारितामा योगदान गर्दै आएका तीन जना अग्रज पत्रकारहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । सिर्जनशील पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार सुविद गुरागाई र निरन्तर पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार मोहन ढकाललाई पुरस्कृत गरिएको थियो । दुवै पत्रकारलाई जनही ५५ हजार ५ सय ५५ रुपैयाका दरले नगद पुरस्कार सहित सम्मानपत्र र दोसल्ला अर्पण गरिएको थियो । ५ हजार १ सय १ रुपैया राशीको प्रोत्साहन पत्रकारिता पुरस्कार पत्रकार भरत थपलियालाई प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासँघ प्रदेश नं. १ का निवर्तमान अध्यक्ष लिलाबल्लभ घिमिरेले पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । 

सोही अवसरमा पत्रिकाका प्रधानसम्पादक शालिग्राम पाण्डेद्धारा लिखित कृति ‘मुल्तबी कथा’ को परिचर्चा सम्पन्न भयो । सहप्राध्यापक  डा. मदन बराल, उपप्राध्यापक टिका आत्रेय तथा लेखक मोहन तिम्सिनाले कृतिका बारे आफ्नो समीक्षा प्रस्तुत गर्नुभएको थियो । समीक्षकहरुले कृतिको नाम हेर्दा कथा सङ्ग्रह जस्तो लागेपनि कृतिमा सत्य घटनाहरुको फेहरिस्त सङ्कलन रहेको बताउनुभयो  । कृतिमा लेखक पाण्डेले आफ्नै जीवनका भोगाइ लेख्नुभएको र उहाँको भोगाइ आम मान्छेको भोगाइसँग मेल खाने भएकोले प्रस्तुत कृति सम्पुर्ण पाठकहरुका लागि सङ्ग्रहणीय रहेको उहाँहरुको भनाइ थियो । कृतिका बारे पत्रकार विराट अनुपम र मोहन ढकालले पाठकीय विचार व्यक्त गर्नुभयो । 

प्रमुख अतिथि घिमिरेले पत्रकार शालिग्राम पाण्डे इमान्दार, मिहनेती र निष्ठावान अग्रज पत्रकार रहनुभएको बताउँदै उहाँको लगावकै कारण पुर्वीहटलाइन दैनिकले असहज परिस्थितीमा पनि निरन्तरता पाउन सकेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासँघ सुनसरीका उपाध्यक्ष अर्जुन सुवेदी, अग्रज पत्रकार कृष्णविनोद लम्साल, प्रेस सेन्टर नेपालका श्रीशीशा राई, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुब ढकाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

पुर्वीहटलाइन दैनिक पत्रिका हाल इटहरिबाट प्रकाशित एकमात्र दैनिक पत्रिका हो । पत्रिकाका कार्यकारी सम्पादक राजन केडीका अनुसार पत्रिका कोभिड महामारीको विषम परिस्थितीमा समेत निरन्तर प्रकाशित भएको थियो ।

.........