धरान, बैशाख १५ । नेकपा माओवादी केन्द्र सम्बद्ध चार जातिय मोर्चाले प्रदेश नं. १ को पुनः नामाकरणका लागि संयुक्त सङ्घर्ष गर्ने भएकाछन् ।
किरात राष्ट्रिय मुक्ति मोर्चा, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, कोच राष्ट्रिय मुक्ति मोर्चा र धिमाल राष्ट्रिय मुक्ति मोर्चाले संयुक्त रुपमा पुनः नामाकरणका लागि आन्दोलन गर्ने भएका हुन् ।
चारवटै मोर्चाले सोमबार धरानमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मुक्सामहाङ मेन्याङ्बो मुकेशले आन्दोलनको स्वरुपबारे मोर्चाहरुको आसन्न राष्ट्रिय सम्मेलनमा वृहत छलफल गरी कार्यक्रम ल्याइने जानकारी दिनुभयो । निकट भविष्यमा सम्पन्न हुने मोर्चाहरुको राष्ट्रिय सम्मेलनले संयुक्त सङ्घर्ष समिति निर्माण गर्ने र सङ्घर्षको ठोस कार्यक्रम सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो । आन्दोलनका लागि विभिन्न पहिचानवादी घटकहरुसँग पनि सहकार्यका लागि समन्वय र छलफललाई अघि बढाइने उहाँले बताउनुभयो ।
२०८१ चैत्र २६ गते इटहरीमा सम्पन्न मोर्चाहरुको संयुक्त बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै अध्यक्ष मेन्याङ्बोले प्रदेश नं. १ को नाम कोशी राखिएको आफुहरुलाई स्विकार्य नभएको बताउँदै १ नं. प्रदेशलाई किरात लिम्बुवान कोचीला प्रदेश नामाकरण गरिनुपर्ने आफुहरुको प्रस्ताव रहेको बताउनुभयो ।
तत्काल प्रदेशसभामा पार्टी संसदीय दलले कोशी प्रदेशमा सहमति गरेर गल्ती गरेको पार्टीले नै स्विकार गरिसकेको स्मरण गर्दै उहाँले आगामी दिनमा पार्टीबाट यसप्रकारको गल्ती नदोहो¥याउन मोर्चाहरुको तर्फबाट खवरदारी जारी रहेको स्पष्ट पार्नुभयो ।
धिमाल, मेचे, सन्थाल, उराउ (झागड), भोटे, लेप्चा लगायत नेपालका सिमान्तकृत तथा अल्पसङ्ख्यक जातिहरुको संरक्षित स्वायत्त क्षेत्र कायम गर्ने तर्फ पनि मोर्चाहरु संयुक्त रुपमा क्रियाशिल रहने उहाँले जानकारी दिनुभयो ।
किरात राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष तथा प्रदेश नं. १ का सभासद राजन किराती वासुले किरात र लिम्बुवान मोर्चाको राष्ट्रिय सम्मेलन यही बैशाख २६ गते धरानमा संयुक्तमा रुपमा आयोजना गरिने जानकारी दिनुभयो । सम्मेलन उद्घाटनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थिती रहने उहाँले बताउनुभयो । कोच, धिमाल लगायत मोर्चाहरुको राष्ट्रिय सम्मेलन जेष्ठ महिनाभित्र सम्पन्न गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।
सन्चारकर्मीहरुको जिज्ञासामा अध्यक्ष किरातीले मोर्चाहरुका सम्मेलनहरुमा नेतृत्व चयन भए सहमतिमा नभए लोकतान्त्रिक विधिबाट गर्ने कुरामा आफुहरु स्पष्ट रहेको बताउँदै उपल्लो नेताहरुको दबाबका आधारमा टिम निर्माण नहुने बताउनुभयो ।
पत्रकार सम्मेलनमा कोच मोर्चाका अध्यक्ष ममता ताजपुरिया र धिमाल मोर्चाका अध्यक्ष तारिलाल धिमाल प्रवेशले पनि आआफ्नो विचार राख्नुभएको थियो ।
......




















