धरान, बैशाख १८ । पुर्पक्षका लागि झुम्का कारागारमा रहेका बराहक्षेत्र २ सुनसरीका भेषराज घिमिरेलाई सुनसरी जिल्ला अदालतले जेल सजायको फैसला गरेको छ ।
घिमिरे जवरजस्ती करणी उद्योग अन्तर्गत २०८१ वैशाख ९ गते पक्राउ परी पुर्पक्षका लागि थुनामा थिए । उनलाई अदालतले ३ वर्ष ६ महिना जेल सजाय तोकेको छ । २०८२ बैशाख १७ गते बसेको शम्भु गौतमको एकल इजलासले घिमिरेलाई जेल सजाय तोकेको हो ।
घिमिरे २०७७ वैशाख देखि २०८१ वैशाखसम्म बृहत्तर बराहक्षेत्र विकास समितिका अध्यक्ष थिए । उनी आदर्श मा.वि. बराहक्षेत्र–२, सुनसरी का भू.पू. सह–प्रधानाध्यापक, शंकराचार्य मठका तत्कालीन अध्यक्ष समेत हुन् । नेकपा एमाले निकट राजनीतिमा सक्रिय उनि उक्त घटना पश्चात पार्टीले निलम्बन गरेको थियो । उनले आफु राधाकृष्ण भक्ति प्रतिष्ठान र प्रथम जगद्गुरु पिठ बराहक्षेत्र–१ चतराको सदस्य रहेको बताउँदै आएका थिए ।
एक महिलालाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा घिमिरे पक्राउ परेका थिए । २०८० फागुन ३० गते पीडित एकुमारी (परिवर्तित नाम) राति करिब ८ बजे आफ्नो कोठामा बसिरहेको अवस्थामा निज भेषराज घिमिरे कोठामा अचानक प्रवेश गरी जवरजस्ती करणीको प्रयास गरेका थिए । पीडित महिलाले आफ्नो बचाउमा प्रतिकार गर्दा भेषराज अझ हिंस्रक बनी जवरजस्ती करणीको प्रयास गरेका थिए ।
उक्त समयमा पिडितलाई घिमिरेले राधाकृष्ण भक्ति प्रतिष्ठान र प्रथम जगद्गुरु पिठको ‘म खास व्यक्ति हुँ’ भन्दै धम्काएका थिए । घटना पश्चात पनि घिमिरेको परिवारले पीडित महिलालाई पटकपटक आर्थिक प्रलोभन देखाउने र अनेक तवरले फकाउँदै मुद्धा फिर्ता गराउने प्रयास गर्दै आएका थिए । पीडित महिला यस्ता प्रलोभनमा नफसेपछि ‘अदालत गइस् भने ठिक हुँदैन’ भन्दै अङ्गभङ्ग गरिदिने धम्की दिँदै आएका थिए ।
आफुमाथि जघन्य अपराध गर्ने घिमिरेलाई अदालतले कैद सजाय तोकेर जेल चलान गरेकोमा आफुले न्याय पाएको महशुस गरेको पिडित एकुमारीले प्रतिक्रिया दिनुभयो । विगत एक वर्षदेखि आफुले सहेको मानसिक पिडा र गरेको सङ्घर्षमा सुनसरी जिल्ला अदालतले उच्च सद्भाव र सम्मान दिएको उहाँले बताउनुभयो । अदालतको न्यायपूर्ण फैसला आफ्नो मात्र नभई सम्पूर्ण पीडित महिलाहरूको जित भएको उहाँले बताउनुभयो ।
...............




















