धरान, बैशाख २० । हिविस्कस वोर्डिङ स्कुल धरानले हरेक हप्ता विद्यार्थीहरुलाई सामाजिक कार्य गराउने भएको छ ।
स्कुलले यस वर्षदेखि सञ्चालन गर्न लागेको पुस्तकरहित कक्षा कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक कार्य गराउन लागेको हो । यसका लागि प्रत्येक शुक्रवारको दिन छुट्याइएको छ ।
विद्यार्थीहरुलाई समाज र सामाजिक व्यवहारको बारेमा व्यवहारिक ज्ञान दिने उद्धेश्यले कार्यक्रम सञ्चालन गर्ने अवधारणा बनेको स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले वताउनुभयो ।
राईका अनुसार हरेक शुक्रवार स्कुलले सरसफाई, निर्माण, सहयोग लगायतमा समुह कार्यहरु गराउनेछ । बालबालिकालाई सिर्जनात्मक सिकाइ अन्तर्गत हाजिरी जवाफ, वाक्य निर्माण, स्काउट तालिम लगायतका क्रियाकलाप पनि गराइने छ । विद्यार्थीहरुलाई विभिन्न जाति र समुदायको संस्कृति र सम्पदा सम्वन्धि समेत जानकारी दिइनेछ ।
पुस्तक रहित कार्यक्रमबाट विद्यार्थीहरुको परिपक्वता र आत्मविश्वासमा वृद्धि हुने आशा गरिएको प्रबन्ध निर्देशक राईले बताउनुभयो ।
पुस्तकरहित शुक्रवार अन्तर्गत चरित्र निर्माण र नेतृत्व विकास, उद्यमशीलता, विपद् व्यवस्थापन सम्वन्धि व्यवहार र अभ्यासबाट सिकाइ गरिने उहाँले बताउनुभयो । योग अभ्यास र सामाजिक सेवाका बारे समेत ज्ञान दिने स्कुलको तयारी छ । विद्यार्थीहरुलाई समस्या र समाधानका बारे जानकारी दिने, सकारात्मक सोँचको विकास गराउने पनि यो कार्यक्रमको उद्धेश्य रहेको राईले जानकारी दिनुभयो ।
...................




















