धरान, वैशाख २८ । नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नं. १ को पुनः नामाकरण गरिनुपर्ने बताउनुभएको छ । हाल कायम गरिएको नाम प्राविधिकमात्र भएको र यसले यस क्षेत्रका जनताको भावना समेट्न नसकेकोले यसको पुनः नामाकरण जरुरी रहेको उहाँले बताउनुभएको छ । पुनः नामाकरण गर्ने भन्नुको मतलब पहिचान झल्किने गरी नामाकरण गर्नुपर्ने आफ्नो पार्टीको नितिमा कुनै फेरबदल नभएको समेत उहाँले बताउनुभयो ।
आइतबार धरानमा किरात राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले यस क्षेत्र पृष्ठभूमि भएका चार राष्ट्रिय मोर्चाहरुले किरात लिम्बुवान कोचिला प्रदेश भनि गरेको नामाकरणले यस प्रदेशको समग्र भावना समेट्ने उहाँले बताउनुभयो ।
अध्यक्ष प्रचण्डले हालको निर्वाचन प्रणाली जनताको नभई पुँजीपतिहरुको पक्षमा रहेको उल्लेख गर्दै यो प्रणाली परिवर्तन गरी राष्ट्रपतीय प्रणाली र जनमुखी समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न संविधान संशोधन अपरिहार्य भएको धारणा व्यक्त गर्नुभयो ।
उहाँले माओवादी नेतृत्वको जनयुद्ध र जनआन्दोलनको संयोजनबाट प्राप्त उपलब्धिहरू समेट्दै जनताको साथमा निर्माण गरिएको संविधानलाई संशोधनमार्फत अझ समावेशी समाजवादतर्फ उन्मुख बनाउने अभियानमा साथ दिन सबैलाई आव्हान गर्नुभयो ।
सरकारको नेतृत्वमा रहँदा माओवादी केन्द्रले देश र जनताको पक्षमा डटेर काम गरेको बताउँदै उहाँले समावेशी पूर्वाधार विकास अभियान अन्तर्गत मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग तथा उत्तर–दक्षिण करिडोरहरू निर्माणको थालनी गरेको स्मरण गराउनुभयो । भूकम्पसँगै मधेसमा विद्रोहको अवस्था सिर्जना हुँदा मधेसलाई समेटेर चुनावमा लैजाने र लोडसेडिङ अन्त्य गर्ने कार्य आफ्नै नेतृत्वमा गरिएको उहाँले बताउनुभयो ।
तेस्रो कार्यकालको सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा निर्मम अभियानको थालनी गरिएको उल्लेख गर्दै प्रचण्डले भन्नुभयो– ‘मैले छानबिन गर्दा आफूविरुद्ध पनि अनुसन्धानको सुई सोझिएको खण्डमा मलाई पनि नछोड्नू भनेर अनुसन्धामा खटिएका प्रहरीका प्रमुखलाई निर्देशन दिएको थिएँ ।’
उहाँले सोही कार्यकालमा आमाबाबु नेपाली नागरिक भए पनि सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गरिएको, मिटरव्याजको समस्याको समाधान गर्न पहल गरिएको र आर्थिक सुधारको दिशामा महत्वपूर्ण काम भएको जानकारी दिनुभयो । आफुले अगाडि सारेको सामाजिक सुरक्षा योजनामा अहिले विदेशमा रहेका १५ लाखभन्दा बढी नेपाली समेटिएको र यस योजनालाई निजी क्षेत्रसम्म विस्तार गर्ने तयारी आफु नेतृत्वको सरकारको रहेको उहाँले बताउनुभयो ।
पूर्वी नेपालमा पहिचानको आन्दोलन गरिरहेका समूहहरू, प्रगतिशील जनता, नयाँ उदाएका दलहरूले माओवादीसँग सहकार्य गर्दै देशमा व्याप्त विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्दै सुशासनको अभियानमा लाग्नुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले सबै उत्पीडित वर्ग, पहिचानका पक्षधर, माओवादी आन्दोलनसँग सम्बद्ध पार्टी तथा समूहहरू र हर्क साम्पाङजस्ता नयाँ उदाएका राजनीकर्मीहरूलाई संविधान संशोधन र समाजवादी रूपान्तरणको अभियानमा एकजुट भई माओवादी केन्द्रलाई साथ दिएर अघि बढ्न आव्हान गर्नुभयो ।
...........




















