इटहरीबाट अमर खड्काको सहयोगमा

इटहरी, पुस ३ गते । सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा यही पुस ५ गते शनिबारदेखि अन्तरराष्ट्रियस्तरको शैक्षिक सम्मेलन शुरु हुँदैछ । सम्मेलनमा विभिन्न चार देशका विज्ञसहित नेपालका चर्चित शिक्षाविद्द्वारा एक सय १२ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । 

जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रुपमा विकास गरेर लैजाने उद्देश्यका साथ सम्मेलन हुन लागेको हो । सम्मेलनको सम्पूर्ण तयारीबारे विहीबार आयोजित पत्रकार सम्मेलनमा चारवटा किनोट स्पिच, १५ वटा प्लेनरी स्पिच, चारवटा फिचर्ड स्पिच, एउटा समूह छलफल र एउटा कविता प्रस्तुती रहने सहायक क्याम्पस प्रमुख तथा सम्मेलन संयोजक इन्द्रप्रसाद प्याकुरेलले बताउनुभयो । अन्तरक्र्रियात्मक पोस्टर प्रदर्शनी, विद्यार्थी प्रतिभा जागरण सत्र, कार्यशाला र ८४ वटा कन्करेन्ट सेसन समेत सञ्चालन हुने उहाँले बताउनुभयो  । 

Janta inकार्यक्रममा मुख्य नोट स्पिकरको रुपमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राडा महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय सिइएनएएसका कार्यकारी निर्देशक डा मिर्गेन्द्र कार्की, कोलम्बिया विश्वविद्यालय टिचर्स कलेज न्यूयोर्क अमेरिकाका डा प्रेम फियाक र बाबा मस्तनाथ विश्वविद्यालय भारतका पूर्वउपकुलपति प्रोफेसर एचएल वर्मा सहभागि हुने तय भएको छ । 

कार्यक्रममा पाँच जना विदेशी विज्ञसहित नेपालका नाम चलेका अन्य १२ जना गरि १६ जना प्लेनरी स्पिकरको रुपमा रहनेछन् जसमा दुई जनता कलेजकै प्राध्यापक रहेका छन् । चार जना फिचर्ड स्पिकर रहनेछन् । अन्तरक्र्रियात्मक पोस्टर प्रदर्शनी, विद्यार्थी प्रतिभा जागरण सत्र, कार्यशाला र कन्करेन्ट सेसन सञ्चालनका लागि पनि अलग अलग प्रस्तुती रहनेछन् । 

सम्मेलनका लागि खानपान, बसोबास, स्वागत, कार्यक्रमको तालिका, प्रचारप्रसार, आर्थिकलगायतका सवै समितिले आफ्नो तयारी पुरा गरेका छन् । शैक्षिक विज्ञ र अनुसन्धानकर्ताबिच अन्तर विषय संवाद र सहयोगलाई गति दिँदै समसामयिक विश्वका चुनौती सामाना गर्न, समय सापेक्ष शिक्षालाई परिवर्तन र परिस्कृत गरेर लैजान नवीन शैक्षिक नमूनाका लागि संरचनात्मक अध्ययन गर्नुपर्छ भन्ने सोचले कार्यक्रम गर्न लागिएको सञ्चालक समिति अध्यक्ष विकास केसीले बताउनुभयो ।  

सम्मेलनका लागि ३५ लाख रुपैया खर्च अनुमान गरिएको छ । यसक्रममा सहभागीबाट रजिष्ट्रेसन शुल्क बापत प्रतिव्यक्ति दुई हजार पाँच सय लिने निर्णय भएको छ । इटहरी उपमहानगरपालिकाले सात लाख रुपैयासम्म आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । सुनसरीमा रहेका अन्य स्थानीय तहमध्ये धेरैजसोले सहयोग गरेको जानकारी आयोजकले दिएको छ । इटहरी उपमहानगरपालिका क्षेत्रमा रहेका वडा कार्यालयमध्ये धेरैजसो वडा र अन्य दाताबाट पनि सहयोग प्राप्त भएको अध्यक्ष केसीले बताउनुभयो ।

...........