धरान, फागुन ४ । धरान उप–महानगरव्यापी अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगिताको छनोट चरण धरानस्थित सहिद स्मृति मा.वि.को सभाहलमा आइतबार सम्पन्न भयो ।
धरानभरिका ११ वटा प्लस टु बाट २० जना विद्यार्थी सहभागी भएको प्रतियोगिताबाट १८ जना फाइनल चरणका लागि छनोट भएका छन् । फाइनलमा प्रवेश गर्नेहरूमा सरस्वती मा.वि., पानवाराका समिता राई र निर्मला भण्डारी, शिक्षा निकेतन मा.वि.का सुसन राई र निशा मगर, पब्लिक हाईस्कुलका गुन्जन लुइँटेल र स्मिता कोइराला रहेका छन् । यसैगरी विष्णु मेमोरियल मा.वि.का सार्थक निरौला र स्वेच्छा आचार्य, चन्द्रसंस्कृत मा.वि.का केवल मिश्र र सुमन भट्टराई, डिपोट मा.वि.की क्यासी राई, धरान–मेघा हिमालयनका दिविका राई र सन्जिना राई फाइनलमा प्रवेश गरेका छन् । सुनाखरी एकेडेमीका नाबिया सरखाना र अमन राई, सहिद स्मृति मा.वि.का जेलिसा पौडेल र झर्ना राई तथा सियोन स्कुलकी सोनिया राई पनि फाइनलमा छनोट भएका छन् ।
प्रतियोगिताको शीर्षक ‘हामी सचेत युवा कि भीड पछ्याउने पुस्ता ?’ रहेको थियो । प्रतियोगिताका निर्णायकमा ब्लाष्ट टाइम्स दैनिकका सम्पादक देवेन्द्र कार्की र भानु स्मृति मा.वि.का शिक्षक ओमनाथ रिमाल रहेका थिए । विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्दै व्यक्तित्व तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले ¥याडिकल लाईट नेपाल प्रा.लि.धरानले प्रतियोगिता आयोजना गरेको हो । आयोजक संस्थाका अध्यक्ष तिर्थ कार्कीले पुरस्कारभन्दा अवसर महत्वपूर्ण हुने उल्लेख गर्दै छनोट चरणबाट धेरैलाई फाइनलमा प्रतिस्पर्धा गर्ने अवसर दिइएको बताए ।
प्रतियोगितामा प्रथमलाई नगद ७ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र, द्वितीयलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र, तृतीयलाई नगद ३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र तथा सान्त्वनालाई नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल आगामी फागुन १५ गते शुक्रबार सहिद स्मृति मा.वि.मा हुने आयोजक संस्थाले जानकारी दिएको छ ।
.......................




















