धरान, फागुन ११ गते । धरान–१ स्थित होलीगार्डेन एकेडेमीले शनिबार आफ्नै प्राङ्गणमा वार्षिक वसन्त उत्सव–२०२६ आयोजना गरेको छ । ‘वसन्त उत्सव, खाना र रमाइलो’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले प्रयोगात्मक सिकाइ र सिर्जनशील क्षमताको प्रदर्शनी गरेका थिए ।
उत्सवमा विद्यार्थीहरूले गणित विषय अन्तर्गत भिन्न, जोड, घटाउ तथा ज्यामितिका विभिन्न कोणका प्रकारलाई प्रयोगात्मक माध्यमबाट प्रस्तुत गरेका थिए । ढक तराजु प्रयोग गरेर तौल मापनको तरिका समेत उनीहरूले प्रत्यक्ष देखाएका थिए ।
घर सुरक्षाका लागि सेन्सर जडित उपकरण, मत गणना गर्ने विद्युतीय मेसिन तथा रोबोट सम्बन्धी नमूनाहरूको समेत प्रदर्शनी गरिएको थियो । प्रविधि र व्यवहारिक ज्ञानलाई जोड्ने प्रयासले अवलोकनकर्ताको ध्यान खिचेको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले आफैं तयार पारेका कोदोको सेलरोटी, गुन्द्रुकको अचार, लस्सी, आलुनिम्की लगायतका परिकारका स्टल राखेका थिए । परिकार बिक्रीमार्फत उनीहरूले उद्यमशीलताको अभ्यास समेत गरेका थिए ।
विद्यालयका प्रिन्सिपल राजेन्द्र गुरुङका अनुसार प्रत्येक वर्ष विद्यार्थीहरूको रुचि र क्षमताअनुसार ‘गर्दै सिक्दै’ सिद्धान्तबाट ज्ञान दिने उद्देश्यले कार्यक्रम आयोजना गर्ने गरिएको हो । सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्यासमा सहभागी हुँदा सिकाइ अझ प्रभावकारी हुने भएकोले कार्यक्रमलाई निरन्तरता दिइएको उहाँको भनाइ थियो ।
अभिभावकहरुले यस्ता सिर्जनशील कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनशीलता र सीप विकासमा टेवा पु¥याउने भन्दै सह्राहना गरेका थिए ।
...........




















