धरान, फागुन १५ गते । सत्यशिशु निकेतन सेकण्डरी स्कुल धरानको ४८ औँ वार्षिकउत्सव शुक्रबार सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा सम्पन्न वार्षिकउत्सव कार्यक्रममा विद्यालयले अभिभावकहरुसमक्ष गुणस्तरिय शिक्षाको प्रतिवद्धता पुनः दोहो¥याएको छ ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष नरेशकुमार इवारमले सत्यशिशु निकेतन वडाकै पुरानो र भौतिक पूर्वाधारयुक्त विद्यालय भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा प्रशंसा गर्नुभयो । उहाँले विद्यालयमा मात्र भर नपरी आफ्ना छोराछोरीको पढाइप्रति अभिभावक स्वयंले पनि चासो राख्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल रमेश राईले गत शैक्षिक वर्षमा सम्पन्न कार्यक्रमहरू, उपलब्धि तथा आगामी योजनाहरू समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । हालसम्म विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न कुनै सम्झौता नगरिएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिइने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक तिलबहादुर सेन्चुरीले विद्यालयले नाफाभन्दा सेवा भावलाई प्राथमिकता दिँदै सर्वसुलभ शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरूले आकर्षक गीत, नृत्य, कविता तथा नाटक प्रस्तुत गरी अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।............




















