धरान, माघ ७ । धरान ८ स्थित शहिद स्मृति माध्यामिक विद्यालयले विभिन्न कार्यक्रमहरुका साथ ६७ औं स्थापना दिवस मनाएको छ ।
सो अवसरमा विद्यालयले सहयोगदाता र शिक्षकहरुलाई सम्मान गरेको छ भने विभिन्न खेलकुद प्रतियोगीताका विजेतालाई पुरस्कृत समेत गरेको छ ।
प्रमुख अतिथि प्रदेश सभाका माननीय रमेश कुमार वस्नेतले कार्यक्रमको उद्घाटन गर्नुभयो । उद्घाटन भने फरक ढङ्गले गरिएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नै वनाएको रोबोटको सहायताले रिवन काटेर प्रमुख अतिथि बस्नेतले कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
विद्यालयमा १ लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने युवा व्यवसायी सुमेधा एजुकेशन नेटवर्क प्रा.लिका सिइओ सुरेन्द्र घिमिरेलाई सम्मानपत्र सहित दोसल्ला अर्पण गरिएको थियो । विद्यालयमा अध्ययनरत विपन्न परिवारका १ सय २५ जना विद्यार्थीहरुलाई न्यायो स्वेटर वितरण गरी सहयोग गर्ने राउण्ड टेवल २६ का प्रतिनिधि संस्थाका पूर्वअध्यक्ष लक्ष्मीकान्त विहानी (एलके) लाई पनि दोसल्ला सहित सम्मान–पत्र अर्पण गरिएको थियो । दुवैलाई प्रमुख अतिथि माननीय रमेश कुमार वस्नेतले सम्मान हस्तान्तरण गर्नुभएको थियो ।
त्यसैगरी विद्यालयमा उत्कृष्ट योगदान गर्ने विद्यालयका पूर्व प्रधानाध्यापक टंक भट्टराई, वोधराज कुँवर र लक्ष्मी भट्टराईलाई सम्मान गरिएको थियो ।
विद्यालयलाई आर्थिक सहयोग गर्ने शिक्षकहरु सतिश कुमार राय, मनोज कुमार शाह, गीता राईलाई पनि सम्मान गरिएको थियो ।
सो अवसरमा विद्यालयले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई धरान उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाका हातबाट प्रमाण–पत्र र मेडल प्रदान गरिएको थियो ।
कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि बस्नेतले शिक्षाको गुणस्तर वृद्धि गर्नको लागि शिक्षक, विद्यार्थी र अभिभावकको बराबर र महत्वपूर्ण भूमिका रहने वताउनुभयो ।
सो अवसरमा अतिथिहरुलाई विद्यार्थीहरुले तयार पारेको विज्ञान प्रयोगशालाको अवलोकन गराइएको थियो ।
शिक्षक अभिभावक संघका अध्यक्ष जयबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षक राजन बनले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा किरातेश्वर मा.वि.का प्रधानाध्यापक डा. योगेन्द्र पालुङ्वा, शिक्षा सदन मा.वि.का प्रधानाध्यापक अमर वस्नेत, सरस्वति मा.वि. पानवारीका प्रधानाध्यापक गंगा धमला लगायतको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले वार्षिक कार्यक्रम तथा योजनाहरु सार्वजनिक गर्नुभएको थियो ।
विद्यालयमा प्राविधिक धार अन्तर्गतको ४ वर्षे कम्प्युटर इन्जिनियरिङको अध्यापन हुदै आएको छ ।
...................




















