धरान, बैशाख २७ गते । धरानस्थित हिविस्कस इङ्लिस वोर्डिङ स्कुलले साकेला नाच र यसको महत्वका वारेमा विद्यार्थीहरुलाई अभिमुखीकरण सम्पन्न गरेको छ ।
पुस्तक रहित कक्षा कार्यक्रमको पहिलो कार्यक्रम अन्तर्गत शुक्रबार अभिमुखीकरण आयोजना गरी विद्यार्थीहरुलाई सो विषयमा जानकारी दिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष तथा साँस्कृतिक अभियन्ता जनकऋषि राईले साकेला नाचको इतिहास र यसको धार्मिक महत्वबारे जानकारी दिनुभएको थियो । उहाँले प्रकृति र साकेला नाचको सम्वन्धका बारेमा पनि जानकारी दिनुभएको थियो ।
सो अवसरमा चरा लगायत प्रकृतिमा रहेका जिवित प्राणी, समय र परिस्थितीसँग साकेलानाचको सम्बन्धलाई साकेला सिलि मार्फत प्रस्तुत गरिएको थियो । किरात जाति प्रकृतिपुजक रहेको बताउँदै अभियन्ता राईले यसलाई साकेला नाचका विभिन्न सिलिमार्फत अभिव्यक्त गर्ने गरिएको जानकारी दिनुभयो ।
विद्यालयका निर्देशक गंगाराम राईले नेपाल वहुभाषिक, बहुसाँस्कृतिक, वहुधार्मिक मुलुक रहेको बताउँदै साँस्कृतिक महत्व बोकेको साकेला नाचका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
निर्देशक राईले सवै समुदायको संस्कृतिका बारे सम्वन्धित समुदायको विज्ञ आमन्त्रण गरी विद्यार्थीहरुलाई जानकारी दिँदै जाने विद्यालयको तयारी रहेको वताउनुभयो ।
हिविस्कस बाल क्लवकी अध्यक्ष निनाम्मा राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्याम चोक सेवा समाजका अध्यक्ष दिनेश रानामगर प्रमुख अतिथि रहनुभएको थियो ।
...........




















