१) नयाँ हुनु राम्रो कुरा हो ।

नयाँ भनेको समाजको निरन्तरताका लागि नेतृत्वको निर्माण हुनु हो । तर वास्तविकता यो हो कि नयाँहरु पुर्ण हुँदैनन् । यो स्वभाविक हो । नयाँहरुमा हुने एउटा मुख्य अपुर्णता अनुभव हो । अनुभव इतिहाससँग जोडिएको हुन्छ । इतिहास भनेको वर्तमान र भविष्यको मार्गदर्शन हो । त्यो अग्रज वा पुरानासँगै हुन्छ । पुरानाहरुले नयाँभन्दा एक झोँक्का भएपनि धेरै बतास झेलेका हुन्छन् । त्यसैले नयाँले पुरानालाई विर्सेर वा छाडेर वा नजरअन्दाज गरेर गन्तव्यमा पुग्न गाह्रो हुन्छ भनिएको हो । 


२) नयाँहरुसँग उत्साह, जाँगर, हुटहुटी, लालसा, सपना, सम्भावना आदी ‘धेरै चीज’ हुन्छन् ।

त्यसैले उनीहरुप्रति धेरैको आशा हुन्छ, उनीहरुका सन्दर्भमा भविष्यलाई हेर्ने कोशिस गरिन्छ । तरपनि वास्तविकता यो हो कि युवाहरुमा भएका ‘धेरै चीज’हरुको बिचमा एउटा चीजको अभाव भइरहेको हुन्छ, त्यो हो यी ‘धेरै चीज’हरुको व्यवस्थापन कला । (नेपालमा जेन्जी आन्दोलनपछिको केही दिनभित्रै यो कुरा पुष्टी भइसकेको छ ।) यो पनि अनुभव र भोगाइबाटै सिकिने कुरा हो जुन कुरामा पुरानाहरु भुक्तभोगी, अनुभवी र सिद्धहस्त हुन्छन् । 


३) नयाँहरु मात्र भएमा वा सिस्टमबाट पुरानाहरुलाई विर्सँदै, हटाउँदै गएमा समाज भत्किदै जानेछ ।

समाजको इकोसिस्टममा एक प्रमुख पक्ष निष्क्रिय वा लोप हुँदै गएमा इकोसिस्टमले काम गर्ने छैन । पुरानाहरुको ज्ञान, अनुभव र विज्ञतासँग नयाँहरुको उत्साह र जाँगरको अन्तरघुलन भयो भने मात्र समाजको इकोसिस्टम पुरा हुनेछ । त्यसैले नयाँ आएमा वा हुँदैमा सबै कुरा सर्लक्कै ठिक हुन्छ अथवा चमत्कार नै हुन्छ, पुरानाहरु भएकोले केही भएन वा हुँदैन भन्नु सरासर मुर्खता हो । पुराना र नयाँहरुको नेचुरल कम्बिनेशनबाट मात्र समाज परिवर्तन हुने हो । 


४) जसरी उमेर भनेको अङ्कमात्र हो त्यसरी नै नयाँ भनेको सर्वथा विचार मात्र हो ।

उमेर, शारीरिक अवस्था, व्यक्तिगत स्वरुप आदीले नयाँ वा पुरानाको निर्धारण गर्दैन । १०२ वर्षको कोही वृद्ध पनि विचारले नयाँ हुनसक्छ । १८ वर्षको युवा पनि विचारले मृत्युन्मुख हुनसक्छ । नयाँ भन्दैमा न्युनतम सामाजिक वा मानवीय मर्यादा नै विर्सने, आफुबाहेकको मत, भावना, विज्ञता, विशेषता आदीलाई सम्मान नगर्ने, बेसोमत र अनुशासनहीनलाई सही मानियो भने त्यो अन्धभक्ति बाहेक केही हुनसक्दैन । पुराना भन्दैमा उसले दिएका नयाँ विचार र चिन्तनहरुलाई सुन्नै नचाहने हो भने त्यो ग्रहदशा विग्रिने बेलाको फुरफुर बाहेक केही होइन ।  


५) नयाँ भन्दै असिमित हौसिनु, फुर्किनु, स्टन्टमा उत्रिनु, भाइरल हुनु, हाहुफाँफुँ चरित्र देखाउनु समाजलाई गलत बाटोतर्फ डो¥याउनु हो ।

नयाँहरु पुरानाहरुसँग अन्तरघुलित भएर अघि बढेनन् भने समाज भाँडिदै जानेछ । नयाँहरुले पुरानाहरुलाई अग्रज, अभिभावक, मार्गदर्शक स्विकार गर्न सकेनन् भने नयाँ हुनुको औचित्य पुष्टि हुनेछैन । आमाबुबा बिनाको घर विच्छृङ्खलित हुँदै जान्छ । यसलाई सम्हाल्नका लागि आमाबुबाको ठाउँ कसैले लिनैपर्दछ । जेन्जी आन्दोलनपछिको नाजुक अवस्थालाई सम्हाल्न उमेरले वृद्धा सुशीला कार्कीलाई सरकारको जिम्मा लगाइएको घटनाले यसको पुष्टि गर्दछ ।  


६) आसन्न चुनाव नयाँ छान्ने र पुराना फाल्ने चुनाव कदापि होइन ।

त्यसो गर्न पनि मिल्दैन । पुरानाहरुले गर्दा यस्तो भएको हो भनेर सबै नयाँ नै नयाँलाई जितायौँ भनेपनि देशको हालत उही आमाबुबा विनाको परिवार जस्तै हुनेछ । चुनावबाट नयाँ र पुराना दुवैको समानुपातिक सहभागीता भएको प्रतिनिधि सभाको टिम आउनु अति जरुरी छ । नयाँमा पनि दीर्घकालिन सम्भावना भएका दिगो, भरपर्दो र डेगीलो उम्मेदवारहरुलाई जिताउन अति जरुरी छ । फेरि भोलि जनताकै मतले चटक, स्टन्ट, भाइरल, चमत्कार आदी शैलीलाई वैधानिकता दिने र राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिदृश्यमा हाम्रो देश हाँसोको पात्र बन्ने र बेइज्जत हुनुपर्ने अवस्था आयो भने अहिलेको भन्दा दयनीय स्थिति भोग्नुपर्नेछ । यसतर्फ सबै मतदाता सचेत हुनु अति जरुरी छ ।

....